राजु पौडेल,
इलाम । झापा र इलामको सीमावर्ती चुरे क्षेत्रका बासिन्दा केरा खेतीतर्फ आकर्षित भएका छन् । केही वर्ष अघि सम्म सिँचाई अभावमा जमिन बाझैँ राख्ने इलामको रोङ-२ का स्थानीय अहिले भने केरा खेतीलाई आम्दानीको मुख्य स्रोत बनाएका छन् ।

पानी अभावले एक दशक अघिसम्म इलामको रोङ गाउँपालिका २ मा अधिकाशंका जमिन बाझैँ हुन्थ्ये । पाखो र भिरालो बारीका डिलमा घरायसी प्रयोजनका लागि केरा लगाउने गरिएको थियो । केही वर्षदेखी बजारको समेत राम्रो सम्भावना हुन थालेपछि स्थानीयले केरा खेती व्यवसायीक रुपमै गर्न थालेका हुन् । हाल बरफ्ल्याङ, दुधे, बँगैचा, धनसार क्षेत्रका बासिन्दाले व्यवसायीक रुपमा केरा खेती गरिरहेका छन् ।

उनीहरुले स्थानीय जातका लाल, भण्डारी, घिउँ केरा र उन्नत जातको सिंगापुरीया केरा लगाएका छन् । केरासँगै बहुतले खेतीका रुपमा सुपारी खेती समेत गर्न सकिने भएपछि स्थानीय भने झनैँ हौसिएका छन् । स्थानिय कृषक टंक अधिकारीले भन्नभयो, ‘२०४५ साल तीर बारीको डिलमा रोप्ने गरिएको थियो’, स्थानीय कृषक टंक अधिकारीले भने, ‘अहिले त यो क्षेत्रमा सबैले आफ्नो बारीमा केरा लगाएका छन् ।’

स्थानीयले उत्पादन गरेको केराले समेत राम्रो बजार पाएको छ । किसानले उत्पादन गरेको केरा खरिद गर्न व्यापारी बारीमै पुग्छन् । व्यापारीले प्रति घरी एक सय रुपैयाँदेखी ३ सय रुपैयाँ सम्म मुल्य हालेर किसानबाट केरा खरिद गर्ने गरेका छन् । ‘लगभग ३ बिगाहामा केरा र सुपारी लगाएको छु, घरव्यवहार चलाउन मज्जाले पुगेको छ’, स्थानीय नथुनीदास चौधरीले भने । केरामा अरु ठुलो रोग नदेखिए पनि गबारो र बर्खाको समयमा छिर्का बस्ने समस्या देखिने गरेको अर्का कृषक मनोज दाहालले बताए ।

विशेष गरेर केराको पकेट क्षेत्र रहेको रोङ गाउँपालिका २ मा जिल्लामै सबैभन्दा बढी केरा उत्पादन हुन्छ । यहाँ ३ सय भन्दा बढी कृषकले व्यवसायिक रूपमा केरा खेती गर्दै आएका छन् । उनीहरुले न्यूनतम् ३ रोपनी देखी ३ विगाहा क्षेत्रमा केरा लगाएका छन् । किसानले सुपारी र केराबाट प्रतिकठ्ठा वार्षिक ५० हजार रुपैयाँ सम्म आम्दानी गर्ने गरेका छन् ।

केराको परिकार उत्पादन

स्थानीयले केराका विभिन्न परिकार उत्पादन गरी स्थानीय क्षेत्रबाट बिक्री समेत गर्न थालेका छन् । सो क्षेत्रलाई केरा खेतीको पकेट क्षेत्र मानेर विभिन्न कार्यक्रम समेत सञ्चालन गरिरहेको रोङ गाउँपालिका-२ का वडाध्यक्ष टेकबहादुर तामाङले बताए । गाउँपालिकाले स्थानीय कृषकका लागि केराको उत्पादनदेखी परिकार बनाउने सम्मको तालिम दिइसकेको वडाध्यक्ष तामाङले बताए ।

सो क्षेत्रमा यसअघि केराको फल र पातको घाँसको रुपमा मात्र प्रयोग गरिने गरेको भए पनि अहिले केराको पात, जरा, गाना, फल, बुङ्गो र कोसाको भेट्नोबाट पचास भन्दा बढी परिकार बनाउन लागि तालिम सञ्चालन गरिएको थियो ।

केराबाट तरकारी, अचार, समोसा मःम, चिप्स, निम्की, पकौडा, चप, मिटबल, जुस, वाइन, ब्राण्डी, रोटी लगायत चार दर्जन बढी परिकार बनाउन सकिने स्थानिय कृषकले बताए । कतिपय परिकार स्थानीय होटल तथा बजारहरुबाट समेत बिक्री भइरहेको स्थानीय कर्ण खड्काले बताए । स्थानीयले उत्पादन गरेको केरा झापाको शनिश्चरे, बिर्तामोडहुँदै राजधानी काठमाडौँसम्म पुग्ने गरेको छ ।