इलाम । विद्युत् उत्पादनको हिसाबले अन्य प्रदेशको तुलनामा प्रदेश १ अग्रस्थानमा छ । सगरमाथा, मकालु, कञ्जनजङ्घाजस्ता उच्च हिमाशिखरबाट सुरु भई बाह्रै महिना बग्ने सप्तकोसी र त्यसका सहायक नदीहरु अरुण, तमोर, दूधकोसी, भोटेकोसी, सुनकोसी यसै प्रदेशमा भएकाले पनि यहाँ विद्युत् उत्पादनको सम्भावना बढी भएको हो । विद्युत् उत्पादनको गुणस्तरको दृष्टिकोणले पनि यी नदीको “रन अफ रिभर” क्षमता उच्च रहेको ऊर्जा उत्पादक हरि बैरागी बताउनुहुन्छ ।

अहिले यस प्रदेशमा नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको निर्माणकार्य तीब्र गतिमा भइरहेको छ । त्यसबाहेक अन्य नदीमा निर्माणाधीन अवस्थामा साना तथा मझौला विद्युत् आयोजनाबाट पनि त्योभन्दा बढी विद्युत् उत्पादन गर्न सकिने सम्भावना देखिएको छ ।

यस प्रदेशका पहाडी तथा हिमाली जिल्लाको प्रायजसो अधिकांश साना ÷ठूला नदीबाट निजी क्षेत्र र सरकारी लगानीमा विद्युत् उत्पादन गर्ने कामले गति लिएको छ ।

अहिलेकै गतिमा विद्युत् उत्पादन परियोजनाको निर्माण काम हुने हो भने अरुण तेस्रोबाहेक नै केही वर्षमा एक हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने अनुमान गर्न सकिन्छ ।

देशकै बहुप्रतिक्षित अरुण तेस्रोको हालसम्म २२ प्रतिशत काम सम्पन्न भएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले दुई वटा निर्माण कम्पनीबाट १३ खण्डमा काम भइरहेको छ । हालसम्म १२ प्रतिशत सुरुङ खन्ने काम सम्पन्न भएको छ । १४ दशमलब ७४ किलोमिटर खन्नुपर्ने मुख्य सुरुङमा अहिले ६ सय १६ मिटर खनिसकिएको छ ।

त्यस्तै चार वटा प्रवेश सुरुङमध्ये पहिलो सुरुङ खन्ने काम सकिएको छ । ४२९ मिटरको दोस्रो प्रवेश सुरुङ पनि ३१८ मिटर खनिसकिएको उहाँले जानकारी दिनुभयो । तेस्रो र चौथो सुरुङको काम पनि धमाधम भइरहेको छ । त्यस्तै चार सय केभीको प्रसारण लाइन निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको छ । पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको नौ सय मेगावाटको अरुण तेस्रो परियोजना निर्माणका लागि एक खर्ब बीस अर्ब रुपियाँ लागत अनुमान गरिएको छ ।

सङ्खुवासभामा हाल ११ दशमलब ८५ मेगावाट विद्युत स्थानीय आयोजनाबाट उत्पादन भइरहेको छ । यसमा सभाखोलाबाट चार दशमलब चार मेगावाट, हेवाँखोलाबाट तीन दशमलब दुई मेगावाट, पिलुवा-१ बाट तीन मेगावाट र तल्लो पिलुवाबाट एक मेगावाट विद्युत उत्पादन हुँदै आएको छ ।

निगुरे पावर हाउसबाट पनि २५० किलोवाट क्षमताको विद्युत उत्पादन भइरहेको छ । जिल्लामा दशभन्दा बढी सानाखोलाबाट ‘माइक्रो हाईड्रो’ सञ्चालन गरी स्थानीयले विद्युत सेवा लिइरहेका छन् ।

त्यस्तै, पाँचथरमा खोरङ्गा, माथिल्लो हेवा, तल्लो हेवा, ईवा, कावेलीबी वान र काबेली ए जलविद्युत परियोजना निर्माण सम्पन्न र निमार्णाधीन गरी छ वटा जलविद्युत आयोजना रहेका छन् । यीमध्ये एक मेगावाटको खोरङ्गा २०६५ सालदेखि सञ्चालनमा छ । १५ मेगावाटको माथिल्लो हेवा २०७३ फागुनदेखि र २२.३४ मेगावाटको तल्लो हेवा यही साउन महिनाबाट सञ्चालन आएको हो । १० मेगावाटको ईवाखोला जलविद्युत निर्माण सम्पन्न भएर परीक्षण भइरहेको छ ।

यहाँ उत्पादन भएको विद्युत पनि काबेली कोरिडोरबाटै केन्द्रमा पठाउने तयारी भइरहेको छ । २५ मेगावाट विद्युत उत्पादन हुने गरि काबेली बी वान बनिरहेको हो । गतवर्ष नै सञ्चालनमा आउने गरी निर्माण भइसकेको काबेली बी मा बाढीले क्षति गरेपछि उत्पादनमा ढिलाई भएको हो । त्यस्तै सात दशमलब छ मेगावाटको काबेली ए निर्माणाधीन अवस्थामा छ ।

त्यस्तै इलाममा अहिलेसम्म करिब ८५ मेगावाट विद्युत उत्पादन भइरहेको छ । करिब पाँच मेगावाट जिल्लामा खपत हुने र बाँकी विद्युत भने राष्ट्रिय प्रसारण लाइनमार्फत बाहिर पठाइने गरेको छ । निर्माणाधीन आयोजनाबाट उत्पादन हुँदा इलामको कुल उत्पादन करिब ११२ मेगाबाट पुग्ने सबस्टेसन तथा काबेली करिडोर आयोजना प्रमुख दीपेन्द्र द्विवेदीले बताउनुहुन्छ ।

इलाममा अहिले सानिमामाईले २९ मेगावाट, माबुको अप्पर माई र अप्पर माई क्यासकेटले १८ मेगावाट, हिमाल दोलखाले १२, जोगमाईले साढे सात, अप्पर पुवाखोलाले तीन, पुवाखोलापहिलोले चार, पुवाखोलाले छ, सुपरमाईले सातदशमलव आठ मेगावाट विद्युत् उत्पादन गरिरहेको गोदकस्थित विद्युत् सब–स्टेसनले जनाएको छ । जिल्लामा दश मेगावाटको सिद्धि हाइड्रो, नौं मेगावाटको सगरमाथा माइबेनी, सुपरमाइको तीन मेगावाटको क्यास्केट आयोजना निर्माण चरणमा छन् ।

त्यस्तै, ताप्लेजुङमा ७३ मेगावाटको मध्यतमोर जलविद्युत आयोजना, २२ मेगावाटको काबेली तेस्रो जलविद्युत् आयोजना, २० मेगावाटको पालुङखोला जलविद्युत आयोजना, ५० मेगावाटको मेवाखोला जलविद्युत् आयोजना, १९ मेगावाटको सिबुखोला जलविद्युत् आयोजना र पाँच सय किलोवाटको मध्य फावाखोला आयोजनाको निर्माण कार्य धमाधम भइरहेको छ ।

उक्त जिल्लाको पाँच मेगावाट क्षमताको फावाखोला जलविद्युत् आयोजना र २२५ किलावाटको सोबुवाखोला विद्युत्आयोजना भने यसअघि नै निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ ।

यसैबीच इलाम, पाँचथर र ताप्लेजुङ्गको उत्पादित विद्युतको केन्द्रीय प्रसारणलाइनमा जोड्ने गरी काबेली कोरिडोर प्रसारणलाइन निर्माण भइसकेको छ । उक्त प्रसारणलाइनमा इलामबाट ८० मेगावाट, पाँचथरबाट ३८ मेगावाट र ताप्लेजुङ्गबाट चार मेगावाट विद्युत भेला भएको द्विवेदीले जानकारी दिनुभयो ।

भोजपुरमा अहिलेसम्म पिखुवाखोला पहिलो परियोनाबाट पाँच दशमलब पाँच मेगावाट विद्युत् उत्पादन भई केन्द्रीय प्रसारणलाइनमा जोडिएको छ भने छ दश मलबपाँच मेगावाट क्षमताको पिखुवाखोला दोस्रो आयोजनाको निर्माण कार्य धमाधम भइरहेको छ । त्यसबाहेक वैकल्पिक ऊर्जा केन्द्रको सहयोगमा भोजपुरका विभिन्न स्थानमा १० वटाभन्दा बढी लघु जलविद्युत् आयोजना निर्माण भई सञ्चालन भइरहेका छन् । ती आयोजनाबाट उत्पादित विद्युत्ले जिल्लाका करिब दुई हजार पाँचसय घरधुरी लाभान्वित भएको जनाइएको छ ।

त्यस्तै एक अर्ब ४० करोडको लगानीमा ओखलढुङ्गामा साता मेगावाट क्षमताको मोलुङ जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भइसकेको छ ।

ओखलढुंगा रामेछापको सिमानामा पर्ने लिखु नदीमा ५२ दशमलव चार मेगावाट क्षमताको लिखु–४ जलविद्युत् आयोजना निर्माणको काम तीव्र गतिमा भइरहेको छ । निर्माणकार्य सुरु भएको एक बर्ष भित्रमा ३० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको बताइएको छ । पर्याप्त मात्रामा हिमशृङ्खला र त्यसबाट निस्कने नदीको उल्लेखनीय संख्या रहेको सोलुखुम्बु निकट भविष्यमै ऊर्जा उत्पादनको हब बन्ने सम्भावना देखिन्छ ।

अहिले सोलुखोलामामात्र २१३.७ मेगावाट विद्युत् उत्पादन हुने गरी पाँच वटा जलविद्युत आयोजना धमाधम निर्माणको प्रक्रियामा छ । सर्वेक्षण अनुमति प्राप्त गरेका करिब १५ वटा यस्ता आयोजनामध्ये धेरैले विद्युत खरिद सम्झौता (पिपिए) गरिसकेका छन् । सोलुखोलाअन्तर्गत सबैभन्दा सिरानमा निर्माण भइरहेको ५.२ मेगावाटको जुनबेशी खोला जलविद्युत् आयोजना, दोस्रोमा रहेको १८ मेगावाटको वेनीखोला जलविद्युत आयोजना, तेस्रोमा रहेको २३.५ मेगावाटको अपर सोलु विद्युत आयोजना, चौथोमा रहेको ८२ मेगावाटको तल्लो सोलु जलविद्युत आयोजना र पाँचौँमा ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी विद्युत आयोजना तीव्र गतिमा निर्माणका चरणमा छन् ।

जसमध्ये २३.५ मेगावाटको माथिल्लो सोलु विद्युत आयोजना अन्तिम चरणमा रहेको छ । यसले करिब दुई महिनाभित्र परीक्षण उत्पादन गर्ने जनाएको छ । सम्झौताअनुसार यी विद्युत आयोजनाबाट उत्पादन भएको विद्युत्लाई सोलु करिडोर अन्तर्गत सोलुखुम्बुको लाम्मानेमा बन्दै गरेका सबस्टेसनबाट केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ ।

सोलु करिडोरमार्फत मिर्चैयाको ट्रान्समिसनमा जडान हुनेछ । त्यस्तै, दूधकोशी र हुङ्गाखोलामा पनि २५० मेगावाट क्षमतासम्मका केही आयोजना निर्माणका लागि नेपाल सरकार तथा विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता भइसकेका छन् ।