अर्जुनधारा । झापाको अर्जुनधारा-१ सिस्नेमा जारी प्रथम शहीद टेक–मान प्रदेशस्तरिय नकआउट फुटबल प्रतियोगिताअन्तर्गत बुधबार सम्पन्न भएको अन्तिम सेमिफाइलन खेलमा सैनिक युथ क्लबलाई पराजित गरी शिवसताक्षी युवा क्लब फाइनलमा प्रवेश गरेको छ ।

शिवसताक्षीले सैनिकलाई २-१ गोलले पराजित गरेर फाइनलमा आयोजक सयपत्री युवा समूहसँग भेट पक्का गरेको हो । स्थानीय टेकमान रंगशालामा भएको खेलको ३७औँ मिनेटमा शिवसताक्षीका मनिष योङहाङले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । फ्रिकिक प्रहारबाट रिबाउन्ड बललाई उनले गोलपोस्टमा दिशा दिएका थिए ।

एकोहोरो दबाब सिर्जना गरेको शिवसताक्षीका लागि मनिषले नै खेलको ४३औँ मिनेटमा दोस्रो गोल गरेर अग्रता दोब्बर बनाएका थिए । यसैबीच, सैनिकका लागि विनोद मेचेले ५५औँ मिनेटमा सान्त्वना गोल गरे ।

व्यक्तिगत दुई गोल गरेका शिवसताक्षीका मनिष योङहाङ खेलको म्यान अफ दी म्याच घोषित भए । उनलाई नेपाली कांग्रेस झापाका सभापति उद्दव थापाले नगद ३ हजार पुरस्कार प्रदान गरे ।

शुक्रबार हुने फाइनल खेलमा शिवसताक्षीले आयोजक सयपत्रीसँग फाइनल खेल खेल्नेछ । विजेताले नगद ५० हजार, ट्रफी र उपविजेताले नगद ३० हजार पाउनेछ ।