दमक । झापाको भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा ९ वटा छाप्रा जल्दा अन्दाजी २९ लाख रुपैयाँ बराबरको क्षति भएको छ । दमक-३ स्थित वेलडाँगी शिविरमा आइतबार बिहान १० बजे लागेको आगलागीबाट उक्त मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सेक्टर नम्बर डी १ का भिमबहादुर राईको टिनको छानो र बाँसको टाटीबेरा गरिएको घरबाट फैलिएको आगो दमक, गौरादह, स्थानीयवासी, प्रहरी, प्रशासनको सहयोगमा नियन्त्रणमा आएको जिल्लाका डिएसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

सामान झिक्ने क्रममा आगलागीमा परी राईकी आमा ५५ बर्सिया फुलमाया घाइते भएको र उनको स्थानीय मेडिकलमा उपचार भइरहेको डिएसपी श्रेष्ठले बताए । आगलागीबाट राईको घरमा रहेको भारतीय नगद ९० हजार ,नेपाली ४० हजार र अन्य सामान गरी ६ लाख क्षति भएको छ ।

त्यस्तै नरवीर राईको अढाई लाख, सरिता तामाङको ३ लाख, गणेश बहादुर कार्कीको तीन लाख, अम्बिका माया कार्कीको ४ लाख, नरबहादुर तामाङको २ लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी नरमाया गुरुङ, मधु दाहाल र दिल बहादुर महतको ३-३ लाख गरी जम्मा २८ लाख ७० हजार बराबरको क्षति पुगेको उनले बताए । आगलागीमा चौपायामा क्षति नपुगेको भए पनि भाडा बर्तन र घर भने पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।