सुरुङ्गा । इजरायलमा रहेका नेपालीहरुको संस्था माउण्ट एभरेष्ट फुटबल क्लबले झापा कनकाईस्थित विशेष शिक्षा बहिरा विद्यार्थीहरुका लागि जाडोमा लगाउने न्यानो कपडासँगै शैक्षिक सामग्री प्रदान गरेको छ ।

गत दीपावलीको अवसरमा इजरायलमा गरिएको सांगीतिक कार्यक्रमबाट संकलित रकमबाट कनकाई मावि सुरुङ्गामा अध्ययनरत् बहिरा ६० जना विद्यार्थीलाई स्वीटर, टोपी, कलम र कापी प्रदान गरिएको हो ।

विद्यार्थीहरुलाई युवा नेता गोपाल प्रसाई, कनकाई माविका प्रअ कर्णबहादुर डाँगी शिक्षक महासंघ कनकाईकी अध्यक्ष सारदा प्रसाई पाठक, विद्यालयका सहायक प्रअ हरिप्रसाद तिम्सिना युवा व्यवसायी केशव शिवाकोटी, बहार जान, विशेष स्रोत शिक्षक वेदप्रसाद खतिवडा, पत्रकार महासंघ झापाका सदस्य लीलाराज झापाली लगायातले सामग्री वितरण गर्नुभएको हो ।

स्वीटर तथा शैक्षिक सामग्री वितरणपछि विद्यालयका प्रअ डाँगीले विदेशमा रहँदा सबैभन्दा बढी याद आफ्नो स्वदेशकै आउने र वैदेशिक रोजगारीमा गएका युवाको सहयोगले गरीब असहाय विद्यार्थीले जाडोमा न्यानो कपडा पाएको बताउनुभयो ।

प्रमुख अतिथि गोपाल प्रसाईले सांगीतिक कार्यक्रमको माध्यमबाट मनोरंञ्जनमात्रै नभएर सामाजिक क्रियाकलापसमेत भएको भन्दै धन्यावाद प्रदान गर्नुभयो ।

इजरायमा रहनुभएका झापा सुरुङ्गाका गायक कुमार लिम्बू र मोरङ पथरीका प्रकाश पाहिम लिम्बूको नेतृत्वमा सांगीतिक कार्यक्रमको आयोजना गरिएको थियो । सांगीतिक कार्यक्रममा नेपालबाट चर्चित गायकहरु डम्बर नेपाली, ताराप्रकाश लिम्बू लगायतको सहभागिता रहेको थियो ।

सांगीतिक कार्यक्रमबाट संकलित रकमले यसअघि मोरङ उर्लाबारीको नमुना बाल गृहका ४६ जना विद्यार्थीहरुलाई ज्याकेट प्रदान गरिएको थियो ।