२७ मंसीरमा भएको हिमपात तथा वर्षासँगै मुलुकभर चिसो शुरू भएको क्रम रोकिएको छैन । दिन दिनै हिमाल, पहाड र तराईमा जाडो बढिरहेको छ । यस वर्षको जाडो र सम्भावित जोखिमबारे सरकारको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेल भन्छन्, “मौसम पूर्वानुमानको सूचना छिट्टै स्थानीय तहमा पुर्‍याउने संयन्त्र भए जोखिम घट्छ।”

यो वर्ष के कारणले छिट्टै हिउँदे वर्षा भयो ?

पश्चिमी वायुले ल्याएको न्यून चापीय प्रणालीका कारण यो वर्ष छिट्टै हिउँदे वर्षा भयो । त्यसैले अघिल्लो वर्षको तुलनामा अगाडि नै चिसो शुरु भयो ।

भारतबाट आएको प्रदूषित वायु सुदूरपश्चिमबाट प्रवेश गरेर पूर्वसम्म पुगेपछि देशभर वर्षा भयो । अहिल्यै हिमाली र पहाडी जिल्लामा हिमपात तथा तराईमा बाक्लो हुस्सु लागेको छ ।

चिसो अझै बढ्न सक्ने सम्भावना छ ?

तराईमा हुस्सुसँगै चिसो अझै बढ्छ । त्यसपछिको मौसमी अवस्था भने ठ्याक्कै भन्न सक्ने अवस्था छैन । जल तथा मौसम विज्ञान विभागले निकाल्ने मौसम पूर्वानुमान सम्बन्धी सूचना नियमित गृह मन्त्रालय पठाइरहेका छौं । यो वर्ष हुने चिसोबारे पनि सूचना पठाइसकेका छौं ।

ती सूचनाका आधारमा जोखिम न्यूनीकरणको तयारी भइरहेको छ त ?

चिसोले निम्त्याउने जोखिमबाट बचाउने पूर्व तयारीका लागि गृह मन्त्रालयले एक महीनाअघि जल तथा मौसम विज्ञान विभाग सहितका निकायसँग बैठक गरेको थियो । गृहले अन्य मन्त्रालयसँग समन्वय गरेर लत्ताकपडा वितरण लगायतको पूर्व तयारी पनि गरेको छ ।

शीतलहरबाट बच्न विभागले पूर्वानुमानका सूचना स्थानीय तहसम्म पनि पुर्‍याउँछ ?

विभागले मौसमी पूर्वानुमानका सूचना सीधै स्थानीय सरकारसम्म पठाउने गरेको छैन । तर, वेबसाइट तथा फेसबूक र ट्वीटर जस्ता सामाजिक सञ्जालमा राख्ने गरेका छौं ।

मौसमका कारणबाट हुने जोखिम कम गर्न के गर्नुपर्छ ?

पूर्वानुमान बारेका सूचना समन्वय गरेर स्थानीय तहसम्म पुर्‍याउन आवश्यक छ । सञ्चारमाध्यमबाट पनि मौसमी अवस्थाबारे छिटो र प्रभावकारी सूचना प्रवाह गरिनुपर्छ ।

अहिले केन्द्रबाट मात्र हुने मौसम पूर्वानुमान प्रत्येक प्रदेशबाट गरेर स्थानीयस्तरमा छिटो सूचना सप्रेषण गर्नुपर्छ । चिसो अझै बढ्न सक्ने भएकाले न्यानो कपडा लगाएर तातो खानेकुरा सेवन गर्नुपर्छ ।

हिमाल खबरमा मंसिर २७ गते प्रकाशित