झापा । कोरोना संक्रमणबाट बिर्तामोडका पूर्व शिक्षकसहित बिहीबार थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड र कनकाई नगरपालिकाका दुई बृद्ध रहेका छन् ।

बिर्तामोड ५ कनकाई रोड निवासी ७३ वर्षीय पुष्पलाल विष्टको बिहीबार साँझ निधन भएको छ । उनको विराट मेडिकल कलेज हस्पिटल विराटनगरमा हिजो साँझ मृत्यु भएको हो । उनलाई पाँच दिनअघि विराटनगर लगिएको थियो । उनको शव आज विहान ल्याएर नेपाली सेनाले कनकाई आर्यघाटमा अन्त्येष्टि गर्न लागेको वडाध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।

मृतक विष्ट पूर्व शिक्षक हुन् । उनले साहित्यिक रचना पनि गरेका थिए । उनका निबन्ध र कविता प्रकाशित छन् । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या बिर्तामोडमा ५ पुगेको छ ।

यसैगरी, बिहीबार नै कनकाई नगरपालिका वडा नं ३ का ६४ वर्षीय पुरुषको निधन भएको छ । उनको बिहीबार बिहान उपचारका क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको हो । उनलाई ४ दिनअघि उपचारका लागि विराटनगर लगिएको थियो ।

मृतकको शवलाई नेपाली सेनाले कनकाई आर्यघाटमा अन्त्येष्टि गरेको कनकाई नगरपालिकाका सूचना अधिकारी लक्ष्मी अधिकारीले बताए । योसँगै कनकाईमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ४ पुगेको छ । यस्तै, कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या झापामा ३१ पुगेको छ ।