बिर्तामोड । झापा जिल्लाका १५ पालिकामध्ये आज १३ पालिकाका बासिन्दामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज एकैदिन ८५ जनामा संक्रमण हुँदा दमकका ३७ जना रहेका छन् ।
संक्रमितमध्ये ४३ महिला र ४२ जना पुरुष रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार दमकमा १८ जना महिला र १९ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
दमकपछि बढी संक्रमित हुने पालिकामा बिर्तामोड रहेको छ । बिर्तामोडमा आज १३ जनामा संक्रमण पुष्टि भएको छ । यहाँका ७ महिला र ६ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै, भद्रपुरमा १० जनामा संक्रमण भएको छ । ८ महिला र २ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यस्तै, कमल गाउँपालिकामा ३ महिला र ३ जना पुरुष, कनकाई र मेचीनगरमा समान २-२ महिला, २-२ जना पुरुषमा भाइरस संक्रमण भएको कार्यालयले जनाएको छ ।
यसैगरी, कचनकवल, गौरादह, बुद्धशान्ति र शिवसताक्षीमा समान एक-एक जना पुरुषमा संक्रमण भएको छ । अर्जुनधारामा २ जना पुरुष, हल्दिबारी र झापा गाउँपालिकामा एक-एक महिला र पालिका नखुलेका १ महिला र २ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
हालसम्म झापामा २ हजार ८०९ जनामा संक्रमण पुष्टि भइसकेको छ भने कोरोनालाई जितेर १ हजार ७०३ जना घर फर्किसकेका छन् । यस्तै, कोरोनाबाट ७० जनाको ज्यान गइसकेको छ भने १ हजार ३६ जना सक्रिय संक्रमित भइ आइशोलेसनमा उपचाररत छन् ।