बिर्तामोड । केही महिना अघिदेखि लक्षणसहितका कोरोना भाइरस (कोभिड १९) का संक्रमित बढेसँगै नेपालमा गम्भीर प्रकारका संक्रमित बढ्दै जान थालेका छन् । जसले गर्दा दैनिक संक्रमितको मृत्युको संख्यासमेत बढेको छ । कोरोना संक्रमितको संख्या बढेसँगै आइसियु र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ ।

यतिखेर मुख्यतः झापामा ७० देखि १ सयभन्दा बढी संक्रमित देखा पर्दै आएका छन् । उपत्यकामा संक्रमण समुदायस्तरमै पुगेपछि संक्रमण बढी भएको विज्ञहरूले बताइरहेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार कात्तिक महिनामा मात्र ४२ जनाको मृत्यु भएको छ ।

साउनमा १ जना, भदौमा २ जना, असोजमा २१ जना र कात्तिकमा ४२ जना गरी बिहीबारसम्ममा झापामा ७२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्सन जीवन चम्लागाईँले बताए ।

मृत्यु भएका ७२ जनामा झापाको दमकमा मात्र २६ जनाको मृत्यु भएको स्वास्थ्य शाखा दमकले जनाएको छ । दमकमा असोजमा ३ र कात्तिकमा २३ जनाको मृत्यु भएको दमक स्वास्थ्य शाखाका नासु कुवेर भट्टराईले बताए ।

पछिल्लो केही दिनयता आइसियु र भेन्टिलेटरमा जाने संक्रमितको संख्या बढ्नुमा दशैँको बीचमा धेरै गम्भीर संक्रमितहरू पनि होम आइसोलेसनमै बस्नुले हो ।

गम्भीर प्रकृतिका संक्रमितहरू पनि धेरै होम आइसोलेसनमा बस्ने र एकदमै गाह्रो भएपछि मात्रै ढिलो गरी अस्पतालमा आउनाले आइसियु र भेन्टिलेटरमा जाने संक्रमित बढेको बताउँछन् टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोलाले बताए ।

उनले भने, ‘अस्पतालमै राखेर उपचार गर्नुपर्ने खालका संक्रमित पनि धेरै घरमै बस्नु र दशैँको बेला धेरै संक्रमितले हेल्चेक्रयाइँ गरेर संक्रमणले धेरै गाह्रो बनाएपछि ढिलो गरी अस्पतालमा आउनाले आइसियु र भेन्टिलेटरमै राखेर उपचार गर्नुपर्ने संक्रमितको संख्या बढेको हो ।’