शनिश्चरे । आसन्न स्थानीय तहको निर्वाचनका लागि झापाको अर्जुनधारा नगरपालिकाको विभिन्न पदमा १ सय ९४ जनाले उम्मेद्वारी दिएका छन् । आइतबार र सोमबार भएको उम्मेद्वारी मनोनयन दर्तामा विभिन्न राजनीतिक दलका उम्मेद्वारले दर्ता गरेका हुन् । मुख्यतः अर्जुनधारामा ठुला पार्टीको रुपमा मानिएको नेकपा एमाले र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुने देखिएको हो ।

 

विशेष गरेर नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका उम्मेद्वारले मनोनयन दर्ता गरे भने केही पदमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल भएको छ ।

 

नेपाली कांग्रेसले नगर प्रमुखको उम्मेद्वारीमा रञ्जिता कार्कीलाई उम्मेद्वारी दिइरहँदा गठबन्धनका हिसाबले नेकपा माओवादी केन्द्रका जितेश योञ्जनलाई उपप्रमुखका रुपमा उम्मेद्वार बनाएको छ ।

 

यस्तै, सिंगो प्यानल नै खडा गरेर उम्मेद्वार प्रस्तुत गरेको नेकपा एमालेले नगर प्रमुखका लागि बलदेव गोम्देनलाई अघि सारेको छ । उनी अर्जुनधारा १० का वर्तमान वडाध्यक्ष पनि थिए । यस्तै, खड्गमाया पराजुली (इन्दिरा)लाई उपप्रमुखका रुपमा उम्मेद्वार चयन गरि मनोनयन दर्ता गरेको छ । उनी नगरकी २ नम्बर वडा सदस्य थिइन् ।

 

यस्तै, राप्रपाका तर्फबाट सूर्य खतिवडा नगर प्रमुख र तारादेवी बस्नेत उपप्रमुख, नेकपा एसका तर्फबाट रमा खवास प्रमुख र उपप्रमुखमा प्रेम सागर सापकोटाले उम्मेद्वारी दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालय अर्जुनधाराले जनाएको छ ।

 

यस्तै, उन्नत लोकतन्त्र पार्टीका तर्फबाट उपप्रमुख पदमा चित्रबहादुर विकको उम्मेद्वारी परेको छ । नगर प्रमुखदेखि वडा सदस्यसम्मका ५७ वटा पदका लागि १ सय ९४ जनाको उम्मेद्वारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

जसमा ११ वटा वडाध्यक्ष पदमा ४६ जना, खुला सदस्यमा ७५ जना र महिला दलित सदस्यमा ३४ जनाको उम्मेद्वारी परेको पनि निर्वाचन अधिकृतको कार्यालय अर्जुनधाराले जनाएको छ । राष्ट्रिय जनमुक्ति पार्टीले पनि नेपाली कांग्रेससँग तालमेल गरि आफ्ना उम्मेद्वारलाई उठाएको बताइएको छ ।