सिस्ने । गठबन्धन दलको वडा नं. १ कार्यालय उद्घाटन गर्दै प्रमुख पदका प्रत्यासी उम्मेद्वार रञ्जिता कार्कीले विकास सँगसँगै सुशासन समाज निर्माणमा आफ्नो अहम् भूमिका हुने बताएकी छिन् ।
१४ गतेबाट वडा नं. १ हुँदै चुनाव प्रचारमा निस्किएकी उम्मेद्वार कार्कीले प्रजातान्त्रिक समाजवादभित्र समग्र नेपालीको भावनालाई सम्बोधन गर्न अर्जुनधारा क्षेत्रमा गठबन्धन दर्बिलो रहेको दाबी गरिन् ।
सिस्नेमा आयोजित कार्यक्रममा उपप्रमुखका प्रत्यासी जितेन योञ्जनले काम गर्ने शैली र उज्यालो नगर बनाउने आधार हामीसँग भएको हुँदा यहाँहरुको अमूल्य मत रहने छ भन्दै विश्वास व्यक्त गरे । प्रचार अभियानमा सरिक रहेका मदन बुढाथोकीले समावेशी सहअस्तित्व निर्माणमा महिलाहरुको अहम् भूमिका भएको हुँदा जनताको आँगनमा महिला उम्मेद्वार लिएर आएको बताए ।
पवित्र स्थल अर्जुनधारा धामबाट अभियान सुरु गरेको गठबन्धनले साधुटार मन्दिरमा पुगेर आशिर्वाद मागेका थिए । गठबन्धन अन्तर्गत रहेका जनमुक्तिका वडा सदस्य अगम येक्तेनले वडा नं. १ का जनताका लागि हाम्रो टिम सेवा गर्न तत्पर रहेको जानकारी गराउँदै उज्यालो वडा निर्माणमा गठबन्धनलाई मत दिन आग्रह गरे ।
कार्यक्रममा महिला नेतृ सरस्वती गोले, नगर उपसभापति चतुर्भुज काफ्ले, युवा नेता भरत बुढाथोकी लगायत कर्यकर्ताहरुको सहभागिता रहेको थियो ।
गठबन्धनको टोली आज विहीबार वडा नं. २ अन्तर्गत घरदैलो अभियानमा जुटेको प्रचार समितिका संयोजक चतुर्भुज काफ्लेले जानकारी दिए । घरदैलो अभियानमा पुगेका गठबन्धनका उम्मेद्वारहरुलाई स्थानीय शुभेच्छुकहरुले स्वागत गरेको जनमुक्तिका नेता पदम लिम्बूले जानकारी दिए ।