तेह्रथुम । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्म गाउँ आठराई गाउँपालिकामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दिलकुमार पाहिम विजयी भएका छन् । पाहिमले ४ हजार ६९९ मत पाएका छन् । यहाँ नेकपा एमालेका रामचन्द्र थपलियाले ४ हजार ८ मत प्राप्त गरेका छन् । पाहिमले थपलियालाई ६८४ मतान्तरले जितेका हुन् ।
उपाध्यक्षमा ४ हजार ८० मत प्राप्त गरी सत्ता गठबन्धनकै नेकपा माओवादीका बलिराज ईङनाम विजयी भएका छन् ।
निवर्तमान उपाध्यक्ष समेत रहेकी एमालेकी उम्मेदवार रुपादेवी कन्दङवालाई १० मत अन्तरले पछि पार्दै ईङनाम विजयी भएका हुन् । कन्दङवाले ४ हजार ७० मत प्राप्त गरिन् ।
कांग्रेस गाउँपालिका सभापति रहेका पाहिम यसअघि वडा नं २ को वडाध्यक्ष थिए । यहाँ २०७४ को स्थानीय निर्वाचनमा समेत नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन थियो । तर, त्यसबेला एमालेले अध्यक्ष र उपाध्यक्षसहित बहुमत सिटमै जित निकालेको थियो । यसपटक भने गठबन्धनले बहुमत सिट जितेको छ ।
वडाध्यक्षको कार्यकालमा आफूले पाउने पारिश्रमिक सामाजिक र विकास निर्माण कार्यमा लगाएर पाहिमले चर्चा बटुलेका थिए । अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट विजयी गाउँपालिका अध्यक्ष मानवहादुर लिम्वु एमाले विभाजनपछि नेकपा एसतर्फ लागेका थिए । त्यसको असर पनि आठराईमा एमालेलाई परेको थियो । त्यही माथि माओवादी समेतको साथ पाएपछि कांग्रेसलाई चुनाव जित्न सहज भएको नेताहरुको भनाइ छ ।
पुर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली यहाँको इवा गाउँमा जन्मिएका हुन् । ओलीले ०७५ सालमा आफ्नो जन्मदिन यही पुगेर मनाएका थिए । ७ वडा रहेको आठराईमा २, ३, ४ र ६ नम्बर वडामा कांग्रेस विजयी भएको छ भने १, ५ र ७ मा मात्र एमाले उम्मेदवार विजयी भएका छन् । इकान्तिपुरबाट