बिर्तामोड । झापाको कनकाई नगरपालिकाको मेयर पदमा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार पोखरेल विजयी भएका छन् । कनकाईको उपमेयर पदमा भने नेपाली कांग्रेसकी उम्मेदवार आशा सिवाकोटी निर्वाचित भएकी छन् । पोखरेल दोस्रो कार्यकालका लागि मेयर पदमा निर्वाचित भएका हुन् ।

 

मंगलबार राति १० बजे सकिएको मतगणनामा मेयर पदमा निर्वाचित पोखरेलले ८ हजार ६ सय ७३ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रुद्रप्रसाद चिमरियाले ६ हजार ६ सय ६१ र कांग्रेसका बागी उम्मेदवार शेरबहादुर थापाले ५ हजार ६ सय ९१ मत पाए ।

 

उपमेयर सिवाकोटीले भने एमालेकी उम्मेदवार मञ्जु प्रसाईलाई पराजित गरेकी हुन् । निर्वाचित सिवाकोटीले १० हजार ७ सय १३ मत पाइन् । उनका निकटतम प्रतिद्वन्द्वी प्रसाईले ८ हजार ८ सय ४५ मत पाइन । प्रसाई निवर्तमान उपमेयर हुन् ।