बिर्तामोड । प्रदेश १ को नामाकरणमा सत्तारुढ दल र प्रतिपक्षीबीच रस्साकस्सी भइरहेको बेला संघीय लिम्बूवान पार्टी नेपालले लिम्बूवान प्रदेशबाहेकको कल्पना गर्न पनि नसकिने भन्दै आन्दोलनको चेतावनी दिएको छ ।

 

संघीय लिम्बुवान पार्टी नेपालले प्रदेश१ को नाम ‘लिम्बूवान’ हुनुपर्ने माग दोहोर्याएको हो । आज झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरी उक्त पार्टीले प्रदेशको नामकरणबारे आफ्नो धारणा पनि सार्वजनिक गरेको छ । अहिलेसम्म प्रदेश १ सरकारले आफ्नो नाम टुंगो लगाउन नसकेको बेला लिम्बूवान पार्टी नेपालले अलमल नगरी प्रदेशको नाम लिम्बूवान राख्नुपर्ने माग गरेको हो ।

 

पार्टीका अध्यक्ष सञ्जुहाङ पालुङवाले सरकारले आफूहरुसँग पटक पटक गरेको सहमतिअनुसार प्रदेशको नाम लिम्बूवान राख्नुपर्ने दाबी गरे । अध्यक्ष पालुङ्वाले लिम्बूवान स्वायत्त राज्य प्राप्तिको आन्दोलनको भावनाविपरीत प्रदेशको नामाङ्कन गरिए विद्रोह गर्ने चेतावनीसमेत दिए ।

 

‘लिम्बुवानी जनताको मर्म र भावनाविपरीत राखिने कुनै पनि नाम हाम्रो पार्टीलाई स्वीकार्य छैन्’, अध्यक्ष पालुङवाले भने, ‘हामी त्यसविरुद्ध सशक्त प्रतिरोधमा उत्रिने छौँ । यसमा राज्यले महङ्गो मूल्य चुकाउनु पर्छ।’ लिम्बूवानबाहेक जुनसुकै नामाकरण गरे पनि आन्दोलनको विकल्प नरहेको उनको भनाइ छ ।

 

मागअनुसार नामाकरण भएको खण्डमा शान्तिपूर्ण आन्दोलन गर्ने बताएका उनीहरुले आवश्यक परे जस्तोसुकै विश्वव्यापी आन्दोलनमा उत्रनसक्ने चेतावनी पनि दिएका छन् । उनीहरुले पृथ्वीनारायण शाहको पालादेखि रामचन्द्र पौडेल नेतृत्वको सरकारी टोलीसँगको कागजात पनि प्रस्तुत गरेर प्रदेशको नाम लिम्बूवान हुनुपर्ने जिकिर गरे ।

 

कार्यक्रममा लिम्बूवान कुनै जातीय पहिचानमा मात्रै आधारित नभएको जनाउँदै पार्टीका सर्वमान्य नेता बीर नेम्वाङले यो सभ्यतासँग जोडिएकाले प्रदेशको नाम लिम्बूवान राखिनु पर्नेमा आफूले जोड दिएको बताए । प्रदेशका सबै राजनीतिक दलहरु, नेता तथा सांसदहरूलाई लिम्बूवान आन्दोलनको संवेदनशीलताप्रति नजर अन्दाज नगर्न नेम्वाङले चेतावनी दिए । ‘हामीले हचुवाका भरमा लिम्बूवान स्वायत्तता मागेका छैनौँ, नेम्वाङले भने ।