मेचीनगर । झापा निर्वाचन क्षेत्र नं १ ‘क’ अन्तर्गत संयुक्त गठबन्धनले सुरु गरेको चुनावी अभियान अन्तर्गत उम्मेद्वारहरुले सोमबार साविक बाहुनडाँगी तथा काँकरभिट्टाका विभिन्न टोलमा रहेका मतदातालाई प्रत्यक्ष भेटेका छन् ।

 

क्षेत्र १ ‘क’ का प्रदेश सभाका उम्मेद्वार गोपाल तामाङ, समानुपातिक तर्फका उम्मेद्वार बालजीत राईसहितको संयुक्त गठबन्धन टोलीले मतदाताका समस्या र गुनासो ग्रहण गरेका छन् । मतदाताहरुले यसपाली नयाँ युवा उम्मेद्वारको खोजी गरेको बताउँदै प्रदेश सदस्य उम्मेद्वार गोपाल तामाङले गठबन्धनका उम्मेद्वारसँग आशा र भरोसा गरेको दाबी गरे । उनले मतदाताको आशा र भरोसालाई आत्मसात गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

संयुक्त गठबन्धनका उम्मेद्वारसहितको टोलीले मेचीनगर ४, बाहुनडाँगीको खिलनाथ टोल, प्रेम टोल, विपी टोल, भूविक्रम टोलका मतदातासँग भेटघाट गरेको छ । यस्तै, मेचीनगर ६, काँकरभिट्टाको पश्चिम प्रगति टोलमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

 

संयुक्त गठबन्धनको चुनाव केन्द्रित ‘अर्जुन दृष्टिको अभियान’ लाई निरन्तरता दिँदै घरदैलो अभियानमा तीब्र पारिएको बताइएको छ । शनिबारबाट सुरु गरेको घरदैलो अभियान आइतबार मेचीनगर १ स्थित निन्दा सिरान, माथिल्लो बाँसे र मेचीनगर ६ मध्य तथा पश्चिम प्रगति टोलमा घरदैलो अभियान सम्पन्न भएको थियो ।

 

घरदैलो कार्यक्रममा नेपाली काँग्रेसका प्रदेश सदस्य सोभा नेम्वाङ श्रेष्ठ, जिल्ला सदस्य ललित तामाङ, मेचीनगर ४ नं वडा सभापति सागर कार्की, महिला संघ क्षेत्रीय सभापति रचना घिमिरे, तरुण दलका क्षेत्रीय सभापति अर्जुन राई, निरज घिमिरे, माओवादी नेता विनोद मण्डल सहभागी छन् ।