झापा (एजेन्सी) । फिफा विश्व कप फुटबलमा पोल्यान्डलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा पोल्यान्डलाई २-० गोलले हराउँदै अर्जेन्टिना नकआउट चरणमा पुग्यो ।

 

अर्जेन्टिनाका लागि एलेक्सिस म्याक आलिस्टरले खेलको ४६औँ र जुलियन अल्भारेजले ६७औँ मिनेटमा गोल गरे । जितसँगै अर्जेन्टिनाले ३ खेलमा ६ अङ्क जोड्न सफल भयो ।

 

अर्जेन्टिनासँग हारेको पोल्यान्ड समूहको दोस्रो स्थानमा रहेर अन्तिम १६ मा पुगेको छ । समूहको अन्तिम खेलमा साउदी अरेबियालाई २-१ गोलले हराए पनि मेक्सिको तेस्रो भयो । समूह ‘सी’ मा मेक्सिको र पोल्यान्डको समान ४-४ अङ्क भए पनि गोलअन्तरमा पोल्यान्ड अगाडि रह्यो ।

 

विश्व कप फुटबलको समूह चरणको अर्को खेलमा साविक विजेता फ्रान्स पराजित भएको छ । फ्रान्सलाई हराए पनि ट्युनिसिया नकआउट चरणमा पुग्न भने सकेन । समूह ‘डी’को अन्तिम खेलमा ट्युनिसियाले फ्रान्सलाई १-० गोलले हराएको हो । फ्रान्स यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ ।

 

समूहको अर्को खेलमा अस्ट्रेलियाले डेनमार्कलाई हराएर अन्तिम १६ मा पुगेको छ ।