झापा (एजेन्सी) । अर्जेन्टिनाले कतारमा आयोजना भएको फिफा विश्वकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो ।
अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि जितेको हो । अर्जेन्टिनाले यस अघि सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि थियो । फ्रान्स भने लगातार दोस्रो पटक र तेस्रो पटक उपाधि जित्न बन्चित बनेको छ । फ्रान्सले यस अघि सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी चुमेको थियो ।
लुसिल स्टेडियममा भएको रोमान्चक खेलको निर्धारित ९० मिनेट २-२ गोलको बराबरीमा सकिएको थियो । थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा ३-३ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो ।
यसैबीच, अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले कतार विश्वकपमा गोल्डेन बल अवार्ड जितेका छन् । कतार विश्वकपमा उत्कृष्ट खेलाडी बन्दै मेस्सीले गोल्डेन बल अवार्ड जितेका हुन् ।अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउन मेस्सी नायक बनेका थिए ।
फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले कतार विश्वकपमा गोल्डेन बुट जितेका छन् । कतार विश्वकपमा सर्वाधिक गोलकर्ता बन्दै एमबाप्पेले गोल्डेन बुट अवार्ड जितेका हुन् । एमबाप्पेले कतार विश्वकपको ७ खेलमा ८ गोल गर्दै गोल्डेन बुट जितेका हुन् । उनले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई पछि पार्दै गोल्डेन बुट जितेका हुन् ।
अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले कतार विश्वकपमा गोल्डेन ग्लोभ्स अवार्ड जितेका छन् । कतार विश्वकपमा उत्कृष्ट गोलकिपर बन्दै मार्टिनेजले गोल्डेन ग्लोभ्स अवार्ड जितेका हुन् । अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउन मार्टिनेजले उत्कृष्ट प्रदर्शन गरेका थिए । मार्टिनेजले फाइनलमा फ्रान्सको पेनाल्टी रोकेका थिए ।