झापा । भारतमा जारी १८औँ लोकसभा निर्वाचनका कारण नेपाल-भारतबीचको पूर्वी सीमानाका आज साँझदेखि बैशाख १५ गतेसम्म बन्द गरिएको छ ।
बैशाख १४ गते भारतमा १८औँ लोकसभा निर्वाचन हुने भएकाले निर्वाचन अवधिभर नेपाल-भारत सीमानाका सिल गरिएको भन्ने पत्र भारतको दार्जिलिङ जिल्लाबाट जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मेचीनगर नगरपालिका ६ काँकरभिट्टास्थित नेपाल-भारत सीमानाका आज साँझ ६ बजेदेखि बैशाख १५ गतेसम्मको लागि बन्द गरिएको डीएसपी कृष्णकुमार चन्दले बताए । यस्तै, झापाकै भद्रपुर सीमानाका पनि बन्द भएको छ ।
नेपालको पूर्वी सीमा जोडिएको पश्चिम बङ्गालको दार्जिलिङ र विहारको किशनगञ्ज जिल्लामा दोस्रो चरणमा एकैदिन मतदान हुँदैछ। जसका कारण इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, भद्रपुरलगायतका नाका बन्द भएको हो । झापाले भारतको दुईवटै राज्यलाई छोएको छ ।