झापा (एजेन्सी) । ३३औँ ग्रिष्मकालीन पेरिस ओलम्पिकको भब्य उद्घाटन गरिएको छ । फ्रान्सको राजधानी पेरिसमा गएराति भब्य उद्घाटन समारोह भएको हो ।
पेरिस ओलम्पिकको इतिहासमा पहिलोपटक उद्घाटन समारोह रङ्गशाला बाहिर नदी किनारमा भएको हो । पेरिस ओलम्पिकमा सहभागी दुई सय देशका १० हजार पाँच सयभन्दा धेरै खेलाडी सेन नदीमा आयोजित परेडमा सवार भए ।
समारोहमा सेन नदी किनारमा हजारौँ दर्शक उपस्थित थिए । आतिशबाजीसहित चर्चित गायकहरुले प्रस्तुति दिएका छन् । उद्घाटन समारोहमा नेपालको झन्डा टेबलटेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले संयुक्तरूपमा बोकेका छन् ।
पेरिस ओलम्पिक यही साउन २७ गतेसम्म चल्नेछ । औपचारिक उद्घाटन अघि नै फुटबल, ह्यान्डबल, आर्चरीलगायतका खेल शुरु भइसकेका छन् । पेरिस ओलम्पिकमा नेपालबाट ७ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
जसमा स्यान्टु र मनितासहित एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीका डुवाना लामा र एलेक्जेन्डर शाह, ब्याडमिन्टनका प्रिन्स दाहाल रहेका छन् ।