झापा । इलामको माई नगरपालिका-१ तिलटारकी २० वर्षीया सोनु श्रेष्ठको दक्षिण कोरियामा निधन भएको छ। अध्ययनको सिलसिलामा ६ महिनाअघि दक्षिण कोरिया गएकी श्रेष्ठको आइतबार निधन भएको हो।

 

दक्षिण कोरियास्थित उल्सान विश्वविद्यालयमा अध्ययनरत श्रेष्ठको निधन भएको खबर आफूहरूलाई आएको उनका फुपाजु होम श्रेष्ठले जानकारी दिए। ‘आइतबार निधन भएको भन्दै सोमबार खबर आएको छ’, श्रेष्ठले भने।

 

उनका अनुसार हृदयाघातका कारण निधन भएको खबर परिवारसम्म आइपुगेको छ। यद्यपि, के कारणले निधन भएको हो भन्ने अहिलेसम्म खुलेको छैन। इलाम कोरिया जनसम्पर्क मञ्चका अध्यक्ष हरि खनालका अनुसार सोमबार दिउँसो उनको शव पोस्टमार्टम भइसकेको छ।

 

पोस्टमार्टमको रिपोर्ट भने अस्पतालले दूतावासलाई दिइसकेको छैन। उनको शव नेपाल पठाउनका लागि आफूहरूले पहल गरिरहेको पनि खनालले जानकारी दिए।

 

सोनु ६ महिनाअघि विद्यार्थी भिसामा दक्षिण कोरिया गएकी हुन्। उनका बुवा लिलाकुमार श्रेष्ठ विगत केही वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा थिए। मलेसियामा रहेका लिलाकुमारको पनि जेठमा निधन भएको थियो।