झापा । मेची राजमार्गअन्तर्गत चन्द्रगढी-चारआली सडक खण्डको हनुमान चोकमा गएराति भएको सडक दुर्घटनामा एक जना युवाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

 

दुर्घटनामा परी झापा ,भद्रपुर १० केन्द्रमोडका २३ वर्षीय आलोक भण्डारीको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। भण्डारी सवार मोटरसाइकलसँग राति अन्दाजी ९ः५० बजेको समयमा अर्को मोटरसाइकल ठोक्किएको थियो।

 

चारआलीबाट चन्द्रगढीतर्फ जाँदै गरेको प्रदेश १-०१-०१४ प ९९३ नम्बरको मोटरसाईकल र विपरीत दिशाबाट आउँदै गरेको मे ८ प २८३५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।

 

प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएका भण्डारीको भद्रपुरस्थित ओमसाइ पाथिभरा हस्पिटलमा उपचारका लागि लगिएको थियो । घाइतेको चेकजाँचपछि चिकित्सकले ११ः४३ बजे मृत घोषणा गरेका थिए ।

 

भण्डारीसँगै सवार भद्रपुर १० का २४ वर्षीइ बिपान्सु राउतको सोही अस्पतालमा उपचार भइरहेको छ । यसैगरी, दुर्घटनामा परी टाउको र शरीरको विभिन्न भागमा चोट लागेका अर्को मोटरसाइकलमा सवार २५ वर्षीय संजिप गिरीको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।