काठमाडौं । नेपाली महिला फुटबल टोली फेरि पनि निराश बनेको छ । साफ च्याम्पियनसिप २०२४ को उपाधि जित्दै इतिहास रच्ने सपना पुनः चकनाचुर भएको छ ।

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको फाइनल खेलमा बंगलादेशसँग २-१ गोलमा पराजित भएसँगै नेपाल उपविजेतामै खुम्चिएको हो। योसँगै बंगलादेशले लगातार साफ जित्न सफल भएको छ। अघिल्लो संस्करणको फाइनलमा पनि बंगलादेशले नेपाललाई यही मैदानमा ३-१ ले हराएको थियोे।

 

बंगलादेशलाई मनिका चक्माले सुरुआती अग्रता दिलाइन्। उनले ५३औं मिनेटमा अमृता जैशीले गरेको गल्तीमा गोल गरेकी हुन्। ग‍ोलरक्षक एन्जिला तुम्बापोले बचाउने प्रयास गरे पनि सकिनन्।

 

तर, त्यसको चार मिनेटपछि नै अमिषा कार्कीले गोल फर्काइन्। प्रीति राईको थ्रू बलमा अमिषाले काउन्टर अट्याकमा गोल गरेकी हुन्।

 

८१औं मिनेटमा बंगलादेशले पुन अग्रता लियो। ऋतु पोर्ना चक्माले अनिता केसीलाई बिट गर्दै प्रहार गरेको बललाई एन्जिलाले बाहिर पठाउने प्रयास गरे पनि असफल हुँदा नेपाल खेलमा पछि पार्यो। घरेलु मैदानमा यसपटक उपाधि जित्ने नेपालको सपना पुनः अधुरै रहेको छ ।