अर्जुनधारा (झापा) । बुद्धशान्ति गाउँपालिकाको टिम झापाको अर्जुनधारामा आयोजित पालिकास्तरीय यू-१८ फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
अर्जुनधारा खेलमैदानमा आज भएको फाइनल खेलमा मेचीनगर नगरपालिकालाई टाइब्रेकरमा ४-२ गोलअन्तरले पराजित गर्दै बुद्धशान्ति गाउँपालिका च्याम्पियन बनेको हो ।
निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । टाइब्रेकरमा बुद्धशान्तिका गोलकिपर रिजन ल्वागुनले मेचीनगरको दुई वटा प्रहार रोकेपछि बुद्धशान्तिले उपाधि रक्षा गर्यो ।
मेचीनगरका सुजल धिमाल र सागर बर्देवाको प्रहार रिजनले रोकेका थिए भने राजु दर्जी र सुजन बेसराको प्रहारमात्र गोलमा परिणत भएको थियो । यसअघि भएका दुई वटा खेलमा पनि रिजनले टाइब्रेकरमा विपक्षीको प्रहार रोक्दै बुद्धशान्तिलाई फाइनल पुर्याएका हुन् ।
बुद्धशान्तिका लागि अंशु लिम्बू, अनिल गिरी, जेनितज बराल र मनिष केदेमको प्रहार गोलमा परिणत भएको थियो । गोलकिपर रिजन ल्वागुन प्लेयर अफ दी म्याच बन्दै नगद २ हजार ५ सय पाउन सफल भए ।
खेलको बेस्ट गोलकिपर पनि रिजन ल्वागुन भए । यस्तै, बेस्ट डिफेन्डर अनिल गिरी, बेस्ट मिडफिल्डर सुरज लिम्बू र बेस्ट फरवार्ड मेचीनगरका नयन प्रधान भए । उनीहरुले जनही ५-५ हजारसहित ट्रफी पाए ।
उत्कृष्ट प्रशिक्षक बुद्धशान्तिका सन्तोष बस्नेत भए । उनले नगद ५ हजार पाए ।खेलको सर्वोत्कृष्ट खेलाडी बुद्धशान्तिका सन्दिप लिम्बू भए । उनले नगद ८ हजारसहित ट्रफी पाए । शनिश्चरे फुटबल क्लबका सदस्य दिपेश धिमाल २०८१ को उत्कृष्ट खेलाडी घोषितहुँदै एक थान माउन्टेन साइकल पाउन सफल भए ।
शनिश्चरे फुटबल क्लबको आयोजना तथा अर्जुनधारा नगर खेलकुद विकास समितिको सहआयोजनामा भएको प्रतियोगिताको फाइनल खेलको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन रहेका थिए । कार्यक्रम टेकराज तिलिङकाे अध्यक्षतामा भएकाे थियाे ।