काठमाडौँ (एजेन्सी) । दुबई र आबुधावी अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ । हवाई क्षेत्र बन्द गरिएका कारण केही उडान रद्द वा ढिला हुने भएका छन् ।

 

विमानस्थल प्रशासनले यात्रुहरूलाई आफ्नो एयरलाइन्ससँग सम्पर्क गर्न र हालको समयमा दुवै विमानस्थलमा नजान सूचना जारी गरेको छ । प्रशासनले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘यात्रु र कर्मचारीको सुरक्षा सुनिश्चित गर्न गरिएको कदम हो ।’

 

यसैगरी, कतारको हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरिएको छ । बन्द गरिएपछि कतार एयरवेजले दोहातर्फ जाने तथा दोहाबाट सञ्चालन हुने आफ्ना सबै उडानहरू अस्थायीरूपमा स्थगित गरेको छ।

 

कतारले दैनिक तीनवटा उडान दोहा-काठमाडौं गर्दै आएको छ । यसबाहेक नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सले पनि दोहाका लागि उडान गर्छन् । इजरायल र अमेरिकाले इरानमा गरेको आक्रमणको असरपछि कतारले आफ्नो आकाश बन्द गर्ने निर्णय गरेको हो ।