काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका ७ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जानकारी दिएको छ । यसैगरी ७ जिल्ला संक्रमणमुक्त भएका छन् ।

पाँच सयभन्दा बढी उपचाररत कोरोना संक्रमित भएका ७ जिल्लामा काठमाडौं, भक्तपुर, चितवन, मोरङ, सर्लाही, रुपन्देही र सुनसरी रहेका छन् ।

यसैगरी नेपालमा कोरोना संक्रमित शुन्य रहेका ७ वटा जिल्लाहरु रहेका छन् । जसमा सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, मुगु र म्याग्दी रहेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५२ हजार ३२९ पुगेको छ ।

नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १५ हजार ३९३ रहेको छ । पछिल्लो २४ घण्टामा थप ८७९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३९ हजार ५७६ पुगेको छ ।

मन्त्रालयका अनुसार आइतबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ ४५ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३६० पुगेको छ ।