झापा । लामो समयपछि अर्जुनधारा नगरपालिकाका २ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।
विदेशबाट आएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको नगर स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतका अनुसार दुवइबाट आएका एक जना र मलेसियाबाट आएका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अर्जुनधारा १ घर भएका दुवै जना पुरुष हुन् ।
शनिश्चरे क्वारेन्टाइनमा रहेका १५ जनाको असोज २ गते स्वाब संकलन गरी मेची प्रादेशिक कोभिड अस्पताल भद्रपुरमा पीसीआर परीक्षणका लागि पठाइएको थियो । मेचीले ७२ घण्टामा रिपोर्ट दिएको स्वास्थ्य शाखा प्रमुख बस्नेतले जनाए ।
दुवैलाई थप उपचारका लागि मेची प्रादेशिक कोभिड अस्पताल पठाइएको छ । एक जना क्वारेन्टाइन र अर्का व्यक्ति होम क्वारेन्टाइनमा रहेका थिए । क्वारेन्टाइनमा रहेका संक्रमित व्यक्ति सुगरका बिरामी हुन् । यो संक्रमणसँगै अर्जुनधारामा संक्रमित संख्या २७ पुगेको छ । शनिश्चरे माविकाे क्वारेन्टाइनमा हाल १७ जना रहेका छन् ।