बिर्तामोड । झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा कार्यरत १२ जना स्वास्थ्यकर्मी कोरोना भाइरस संक्रमणमुक्त भएका छन्। कोरोना संक्रमण भएको १५ दिनपछि उनीहरु संक्रमणमुक्त भएका हुन् ।

समुदाय तहमा कोरोना संक्रमण फैलँदै गएपछि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको पीसीआर जाँच गर्दा १२ जनामा संक्रमण पुष्टि भएको थियो ।

संक्रमणमुक्त भएका स्वास्थ्यकर्मीलाई अस्पताल प्रशासनले आज विशेष कार्यक्रमका बीच स्वागत गरेको छ । अस्पतालको व्यवस्थापन तथा उपचारमा रहेका उनीहरुलाई काममा फर्कनुअघि अस्पतालले स्वागत गरेको हो ।

अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले कोराना संक्रमणको जोखिम भएपनि यसबाट कोही भाग्न नसक्ने बताए । उनले संक्रमण जितेर आएका स्वास्थ्यकर्मीलाई धन्यवाद दिए । तत्कालका लागि कोरनासँग मिलेर जानुको विकल्प नभएको कार्यकारी निर्देशक प्रसाईको धारणा छ ।

पूर्वाञ्चल क्यान्सर अस्पतालको बैठक कक्ष । अग्रपंक्तिमा सञ्चारकर्मी बसेका छन् । उनीहरूको छेवैमा छन् कार्यकारी निर्देशक दुर्गा प्रसाई । पत्रकारहरुलाई निर्देशक प्रसाई भन्छन्, कोरोना केही होइन। हाम्रा सबै स्वास्थ्यकर्मी संक्रमण मुक्त भएर भोलिदेखि काममा फर्किंदैछन् ।

उनले त्यति भनी नसक्दै युवतीहरूको एउटा समूह हर्षित मुद्रामा बैठक कक्षमा प्रवेश गर्छ । सबैले मास्क लगाएका छन् । उनीहरू अरु कोही नभएर अस्पतालका नर्स र डाक्टर हुन् । १५ दिनअघि कोरोना संक्रमण भएपछि उनीहरु आइसोलेसनमा थिए।

संक्रमण मुक्त भएपछि अस्पतालले उनीहरुलाई स्वागत सम्मान गरेको छ । कार्यकारी निर्देशक प्रसाईले उनीहरु सबैलाई पालैपालो खादा लगाइदिए, हातमा पुष्पगुच्छा थमाए, अनि पालैपालो अंगालो मारेर तस्बिर खिचाए । संक्रमण मुक्त भएका स्वास्थ्यकर्मीसँग अस्पतालका डाक्टर र सञ्चारकर्मीले पनि फोटो खिचे ।

संक्रमणमा परेका स्वास्थ्यकर्मीलाई अन्यत्र कतै नपठाई आफ्नै अस्पतालमा उपचार गरेको कार्यकारी निर्देशक प्रसाई बताउँछन् । आफ्नो अनुभव सुनाउँदै डाक्टर राजेश भन्छन्, ‘बाहिर अनेकथरी हल्ला फैलियो, तर हामी अलिकति पनि विचलित भएनौ । किनभने हामीलाई अस्पताल प्रशासन र सिंगो डाक्टरहरूको टिमले आत्मविश्वास र हौसला जगाइरहेको थियो ।’