झापा । झापा, ताप्लेजुङ र सुनसरी जिल्लाका तीनजना कोरोना संक्रमितको व्यक्तिको मृत्यु भएको छ ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा झापाको मेचीनगर–८ की ७२ वर्षीया बृद्धाको आइतबार राति ९ः२० बजे मृत्यु भएको जनाइएको छ ।

निमोनियाको लक्षण देखिएर कन्काई अस्पतालमा भर्ना गरिएकी बृद्धाको स्वासप्रश्वासमा समेत समस्या भएपछि थप उपचारका लागि आइतबार प्रतिष्ठानमा लगिएको थियो ।

उनको स्वाब परीक्षण गर्दा आइतबार नै पोजेटिभ आएपछि कोभिड आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा राती नै मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले बताए ।

त्यसैगरी सुनसरीको इनरुवा नगरपालिका–४ की ४९ वर्षीया महिलाको पनि कोरोना संक्रमणपश्चात मृत्यु भएको छ ।

प्रवक्ता डा।सापकोटाका अनुसार मृगौलासम्बन्धि समस्याका कारण नियमित डाइलासिस गराइरहेकी महिला असोज १ गतेको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । उनलाई थप उपचारका लागि आइसोलेसनमा भर्ना गरिएकोमा सोमबार विहान २ बजे मृत्यु भएको जनाइएको छ ।

यता ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–१ की ३७ वर्षीया महिलामा समेत कोरोना पुष्टि भएर उपचार गर्दागर्दै मृत्यु भएको छ ।

उनको विराटनगरस्थित विराट मेडिकल कलेज टिचिङ अस्पतालको आइसोलेसनमा उपचारका क्रममा सोमबार विहान साढे १० बजे मृत्यु भएको जनाइएको छ ।

नोबेल मेडिकल कलेजमा कलेजोको रोगको उपचार गराउने क्रममा कोरोना परीक्षण हुँदा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

थप उपचारका लागि उनलाई भदौ ३० गते विराट मेडिकल कलेजको कोभिड आइसोलेसनको आइसीयु कक्षमा भर्ना गरिएकोमा सोमबार विहान मृत्यु भएको मेडिकल कलेजले जनाएको छ ।

अब प्रदेश १ मा कोरोना संक्रमित मृतकको संख्या ५६ पुगेको छ । जसमध्ये प्रदेश १ स्थायी ठेगाना भएका ४३ जना रहेका छन् ।