झापा । झापामा कोरोना संक्रमणका कारण एक ७७ वर्षीय पुरुषको गएराति मृत्यु भएको छ । झापा गाउँपालिका वडा नंं ६ निवासी वृद्धको मृत्यु भएको हो ।

उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले बताए । उनको शव स्थानीय रानी सामुदायिक वन क्षेत्रमा नेपाली सेनाले व्यवस्थापन गरेको छ ।

उनका छोरा झापाको बिर्तामोडबाट गत भदौ २४ गते बुवा भेट्न आएका थिए । त्यसपछि यही असोज ३ गते आएको छोराको पीसीआर रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको थियो । छोराले भेटेर गएपछि पितामा सामान्य ज्वरो र रुघाखोकीको लक्षण देखिएको थियो ।

क्रमशः रुघाखोकीले च्याप्दै गएपछि गाउँपालिकाले तीन दिनअघि सोही क्षेत्र आसपासका ३२ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गरेको थियो । परीक्षण गरिएकामध्ये अन्य सबैको रिपोर्ट नेगेटिभ आए पनि वृद्धको भने पोजेटिभ आएको विश्वकर्माले जानकारी दिए ।

लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्यामा रहेका वृद्धको गएराति निधन भए पनि रिपोर्ट भने आज बिहान मात्र आएको बताइएको छ ।