झापा । अर्जुनधारामा बिहीबार दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सिभिल बैंक अर्जुनधारा शाखाका कर्मचारीसहित २ जनामा संक्रमण पुष्टि भएको हो ।

नगर स्वास्थ्य शाखाका अनुसार अर्जुनधारा ८ शनिश्चरे बजारस्थित बैंकमा कार्यरत २५ वर्षीय पुरुष कर्मचारीमा संक्रमण पुष्टि भएको हो । स्वाद र गन्ध थाहा नपाउने भएपछि असोज २ गते कोशी कोभिड अस्पताल बिराटनगरमा स्वाब संकलन गराएर उनी तीन दिनसम्म घरमै बसेका थिए ।

अस्पतालले तीन दिनमा रिपोर्ट दिने भने पनि चार दिनसम्म रिपोर्ट नआएपछि उनी असोज ६ गतेदेखि कार्यालय जान थालेको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए ।

आज असोज १५ गते सामाजिक विकास मन्त्रालय बिराटनगरबाट रिपोर्ट पोजेटिभ आएको भन्दै आइसोलेशनमा जान सम्पर्क गरेको उनको भनाइ छ । रिपोर्ट पोजेटिभ आएपछि बैंक बन्द गराइ सबै स्टाफलाई होम क्वारेन्टाइनमा बस्न भनिएको बस्नेतले बताए ।

उनका अनुसार पाँच दिनपछि होम क्वारेन्टाइन बसेका कर्मचारीको स्वाब संकलन गरी पिसिआर परीक्षणमा पठाइनेछ । त्यस रिपोर्टको आधारमा कन्ट्याक्ट ट्रेसिङ गरिने स्वास्थ्य शाखाले जनाएको छ ।

कोशी कोभिड अस्पतालको लापरबाहीले गर्दा अर्जुनधारामा संक्रमण फैलन सम्भावना बढेर गएको छ । यसअघि पनि क्वारेन्टाइनमा रहेका व्यक्तिको पिसिआर रिपोर्ट १० दिनसम्म ढिला हुँदा तनाव सिर्जना भएको थियो ।

यस्तै, अर्जुनधारा ६ का एक व्यक्तिको रिपोर्ट पनि पोजेटिभ आएको जनाइएको छ । स्वास्थ्य शाखाका अनुसार ३३ वर्षीय संक्रमित पुरूषले स्वाद र गन्ध थाहा नपाउने भएपछि उनले हिजो (बुधबार) मेची प्रादेशिक कोभिड अस्पताल भद्रपुरमा स्वाब संकलन गराएका थिए । रिपोर्ट आज आएको हो ।