झापा । समुदायमा कोरोना भाइरसको संक्रमण फैलने खतरा बढेको भन्दै आजदेखि अर्जुनधारा नगरपालिकाको ६ नम्बर वडा कार्यालय पनि बन्द गरिएको छ ।

आज बिहान बसेको सर्वपक्षीय भेलाले वडाको स्थानीय बासिन्दामा पनि लक्षणसहितको संक्रमण पुष्टि भइसकेकाले थप संक्रमण फैलन नदिन वडा कार्यालय बन्द गरिएको वडाध्यक्ष लोकनाथ गौतमले जानकारी दिए ।

६ नम्बर वडाका स्थानीय ३३ वर्षीय पुरुषमा हिजो बिहीबार संक्रमण पुष्टि भएको थियो । उनमा स्वाद र गन्ध थाहा नपाउने देखिएपछि भद्रपुरमा स्वाब संकलन गरी पीसीआर परीक्षण भएको थियो ।

अर्को सूचना नआउञ्जेलका लागि वडा कार्यालय बन्द रहने वडाध्यक्ष गौतमद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ । यससँगै संक्रमण फैलने डरले अर्जुनधाराका वडा कार्यालय बन्द गरिएकाको संख्या पनि ६ पुगेको छ ।

यसअघि नगरको पाँच वडा कार्यालयले सूचना प्रकाशित गर्दै बन्द गरेका थिए । जसमा २, ३, ८, ९ र १० नम्बर वडा कार्यालय रहेका छन् ।