झापा । पछिल्लो २४ घण्टामा झापामा ९ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये ५ महिला र ४ पुरुष छन् ।

संक्रमित थपिएका पालिकामा दमक, गौरादह, बिर्तामोड र कमल गाउँपालिका रहेका छन् । संक्रमितमध्ये सबैभन्दा बढी ४ जना बिर्तामोडका रहेका छन् । जसमा २ महिला र २ पुरुष छन् ।

संक्रमितहरु १ र ३ नम्बर वडाका रहेका छन् । उनीहरु सबै स्थानीयबासी हुन् । त्यस्तै, गौरादह १ का दुई जना स्थानीय महिला पनि संक्रमित भएका छन् । एक जना ९० वर्षीय बृद्धको निधन भएको छ ।

यस्तै, दमक नगरपालिकामा २ जना पुरुष संक्रमित थपिएका छन् । यहाँ २ जना पुरूषको काेराेनाबाट निधन भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यसैगरी, कमल गाउँपालिकामा एक महिलामा संक्रमण भएको छ । संक्रमित ८३ वर्षीया बृद्धाको कोरोनाबाट निधन भएको पनि कार्यालयले जनाएको छ ।

यो सँगै झापामा कोरोनाबाट निधन हुनेको संख्या २८ पुगेको छ । हालसम्म झापामा एक हजार ८८८ जनामा संक्रमण पुष्टि भइसकेको छ भने सक्रिय संक्रमितको संख्या ७५८ रहेको छ । आजसम्म १११९ जना कोरोनालाई जितेर घर फर्किसकेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।