झापा । दमक उद्योग वाणिज्य सङ्घले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि दमक नगरपालिकालाई करिब ४१ लाख ७५ हजारबराबरको स्वास्थ्य उपकरणहरू उपलब्ध गराएको छ ।

सङ्घको अगुवाइमा सञ्चालन गरिएको महामारी नियन्त्रण अभियानले नगरपालिकालाई एक थान अत्याधुनिक भेन्टिलेटर, ६ थान अक्सिजन कन्सट्रेटर उपकरणसहित विभिन्न स्वास्थ्य सामग्रीहरू उपलब्ध गराइएको सङ्घले जनाएको छ ।

सङ्घले आज एक कार्यक्रम गरी ती स्वास्थ्य सामग्रीहरू नगर प्रमुख रोमनाथ ओलीलाई हस्तान्तरण गरिएको अध्यक्ष गोकुल श्रेष्ठले बताउनुभयो ।

निजी क्षेत्र, सङ्घसंस्था, व्यक्तिहरू तथा लायन्स क्लबको सहयोग जुटाएर ती स्वास्थ्य उपकरणहरू प्रदान गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

सङ्घले सहयोग जुटाउन संघका पूर्व अध्यक्ष प्रकाश प्रसाईँको संयोजकत्वमा कोरोना महामारी नियन्त्रण अभियान गठन गरेको थियो ।

अभियानका संयोजक प्रसाईँका अनुसार दमकका उद्योगी, व्यवसायीका तर्फबाट ७ लाख ७७ हजार र अन्य रकम भने लायन्स क्लब अफ इन्टरनेशनलको परियोजनाबाट सहयोग जुटाइएको थियो ।

नगरपालिकालाई प्राप्त उक्त स्वास्थ्य उपकरणहरू दमकको एकमात्र सरकारी अस्पताल दमक अस्पतालमा जडान गरी छिट्टै सञ्चालनमा ल्याउने नगर प्रमुख ओलीले जानकारी दिनुभयो ।