शनिश्चरे । नगरमा सञ्चालन भइरहेका र यसअघि भएको विभिन्न रोग निवारणका खोपसम्बन्धी नवनिर्वाचित जनप्रतिनिधिहरुलाई लक्षित गर्दै एकदिने गोष्ठी सम्पन्न भएको छ । झापाको अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखाले बिहीबार जनप्रतिनिधिलाई शाखाबाट प्रवाह भइरहेको खोपसम्बन्धी जानकारी दिने उद्देश्यले गोष्ठी आयोजना गरेको हो ।
नवनिर्वाचित जनप्रतिनिधिहरुलाई पालिकास्तरमा खोप ऐन्, नियमावली, एईएफआईको जानकारी, खोप कार्यक्रमको समिक्षा, नियमित खोप सुदृढिकरण, पूर्ण खोपको दिगोपन र सरसफाई प्रबद्र्धन कार्यक्रमलगायतका विषयमा पनि जानकारी दिने उद्देश्यले उक्त गोष्ठीको आयोजना गरिएको स्वास्थ्य शाखाका संयोजक मुकुन्द बस्नेतले जानकारी दिए ।
जिल्ला स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत इश्वरी पौडेलले सहजिकरण गरेको कार्यक्रममा शाखा संयोजक बस्नेतले खोपको विगत तीन वर्षको अवस्था र वर्तमान अवस्थाबारे सहभागीहरुलाई जानकारी गराएका थिए । उनले अब केही दिनभित्रै सुरू हुने ५ वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकामा काेराेना भाइरसविरूद्धकाे खाेपबारे पनि जानकारी दिए ।
जनप्रतिनिधिहरूलाई लक्षित गरि कार्यक्रम याेजना गरिए पनि उनीहरूकै सहभागिता न्यून रहेकाे थियाे । अधिकांंश कार्यक्रममा जनप्रतिनिधिहरूकाे उपस्थिति कमै हुने गरेकाे छ । तर, शाखाले नगरमा हुने स्वास्थ्यसम्बन्धीका गतिविधि वडासम्म पुगाेस् भन्ने हेतुले कार्यक्रम गर्दै आएकाे स्वास्थ्य संयाेजक बस्नेतले बताए ।
कार्यक्रममा वडाध्यक्षहरु खगेन्द्र इङनाम, भीष्म मिश्र, भूपेन्द्र न्यौपाने र हरिशचन्द्र बाँस्तोला, कार्यपालिका सदस्यहरु गौरीमाया चिमरीया, चन्द्रकुमारी तामाङ, नरेन्द्रबहादुर राई र सन्तोष मेचे, नगर सभा सदस्यहरु देवकुमार राई, बलबहादुर समाल मगर, हरिबहादुर कटुवाललगायतको मात्र सहभागिता रहेको थियो ।