झापा । झापाको एक स्वास्थ्य केन्द्रबाट म्याद गुज्रेको औषधि वितरण गर्ने कर्मचारी निलम्बित भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा म्याद गुज्रेको औषधि वितरणको घटनामा संलग्न सम्पूर्ण कर्मचारीहरु निलम्बित भएका हुन् ।
कचनकवल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको यथार्थ विवरण प्राप्त नभएसम्म स्वास्थ्य केन्द्रको औषधि वितरण शाखामा कार्यरत सम्पूर्ण कर्मचारीलाई निलम्बन गरिएको जनाएकी छन् ।
सो घटनाप्रति कचनकवल गाउँपालिकाले छानबिन थालेको छ । कचनकवल गाउँपालिका मातहतका स्वास्थ्य केन्द्रहरुबाट प्रवाह हुने स्वास्थ्य सेवाको विषयमा संवेदनशील रहेको बताउँदै प्रमुख प्रशासकीय अधिकृत यादवले त्यस घटनाप्रति आवश्यक छानबिन थालेको जनाएकी छन् ।
छानबिनमा दोषी भेटिए कार्वाही गरिने उनको भनाइ छ । केही दिनअघि प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा म्याद गुज्रेको औषधि वितरण भएको समाचार प्रकाशित भएको थियो ।