अर्जुनधारा, झापा । नेवाः देय दवु अर्जुनधारा नगर समितिले दोस्रो अधिवेशन सोमबार विविध कार्यक्रम गर्दै सम्पन्न गरेको छ ।

आदिवासी जनजाति भवनमा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य वृख प्रधानलाई विशेष सम्मान गरिएको हो । । प्रदेश सांसद प्रधान झापा क्षेत्र नम्बर २ को ‘ख’ बाट प्रदेश सभामा निर्वाचित भएका थिए । उनलाई दवुका नगर अध्यक्ष गौरीशंकर श्रेष्ठले सम्मानपत्रद्वारा सम्मान गरे ।

दवुका नगर सचिव भानु श्रेष्ठले सञ्चालन गरेको कार्यक्रमको प्रमुख अतिथि पनि प्रदेश सांसद प्रधान नै थिए । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष वीना तुलाधरले गरेका थिइन् ।

कार्यक्रममा दवू प्रदेश समितिका संयोजक इन्द्रबहादुर श्रेष्ठ, दवू झापाका अध्यक्ष दिनेश शाक्य, नेपाल आदिवासी जनजाति महासंघ नगरका अध्यक्ष जगत राना मगर, कृष्ण श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

‘जुजाबु’ अर्थात् नेवार पुरोहित डिल्ली जोशीले नेवार समुदायहरुको जन्मदेखि मृत्युसम्मको संस्कारको विषयमा संक्षिप्त जानकारी दिएको कार्यक्रममा दवूमा आवद्ध कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।