अर्जुनधारा, झापा । झापाको अर्जुनधारा–७ डाँडागाउँस्थित पिपल चौक बाट फूलमती खोलासम्मको सडकमा नाला निर्माण गर्ने योजनाको सार्वजनिक सुनुवाई शुक्रबार सम्पन्न भएको छ ।

नाला निर्माण उपभोक्ता समितिका अध्यक्ष मनोज भण्डारीको अध्यक्षता र वडाध्यक्ष नवराम ढुंगानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा समितिका सचिव दिपक भट्टराईले योजनाको आय–व्यय प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदन अनुसार गत पुस २४ गते सम्झौता भइ फाल्गुन २९ गते सम्पन्न भएको योजनामा जम्मा लागत १० लाख एक हजार २९९ रुपैयाँको लगानीमा २२० मिटर नाला निर्माण भएको उल्लेख गरिएको छ । सम्झौतामा २ सय मिटर नाला निर्माण गर्ने उल्लेख थियो ।

उक्त योजनाको लागि चालु आर्थिक वर्षको वडाको बजेटबाट आठ लाख रुपैयाँ विनियोजन भएको, जनसहभागितामार्फत् एक लाख ९० हजार ९९० रुपैयाँ १६ पैसा र बाँकी रकम समितिले जुटाएको बताइएको छ । ‘नगरको स्टीमेट अनुसार दुई सय मिटर निर्माण गर्नुपर्ने भएकोमा हामीले थप २० मिटर नाला निर्माण गरेका छौं’, अध्यक्ष भण्डारीले भने ।

कार्यक्रममा वडा सदस्यद्वय ऐतराज नेम्वाङ र देवकुमार राई, योजना अनुगमन समितिका संयोजक मोहन धिताल, सदस्य कमल सुवेदीलगायतको आतिथ्यता रहेको थियो ।