झापा । आइतबार हुने दार्जिलिङ विधानसभा उपनिर्वाचनका कारण आज शनिबार साँझ ६ बजेदेखि नेपाल-भारत सीमा नाका सिल भएको छ ।
तत्कालीन विधानसभा सदस्य अमरसिंह राईले राजीनामा दिएपछि उपनिर्वाचन गर्न लागिएको हो ।
इलाका प्रहरी कार्यालयका काँकडभिट्टाका डिएसपी महेश थापाले झापाको काँकडभिट्टा-पानीट्यांकी र इलामको पशुपति-मिरिक नाका दुई दिन बन्द हुने बताए । उनका अनुसार शनिबर साँझ बन्द भएर सोमबार बिहान मात्रै नाका पुनः सञ्चालनमा आउनेछ ।
भारतीय सुरक्षा अधिकारीले खुला नाकाका कारण निर्वाचनमा हुन सक्ने अवान्छित गतिविधि नियन्त्रणका लागि बन्द गर्नु परेको बताएका छन् । ‘आइतबार नाका ठप्प रहने छ’, ती अधिकारीले भने,’ सवारी साधन र मानिस आवागमनमा समेत रोक लगाइने छ ।’
सामान खरिद गर्न पानीटंकी, नक्सलबाडी र सिलिगुडी गएका नेपाली अहिले मेची पुलमा पैदल नै आइरहेका छन् । त्यस्तै लामो दूरीको यात्रा गरिरहेका यात्रु पनि सवारी अभावमै दुवै नाकातिर आवतजावत गरिरहेका छन् ।