झापा । तत्कालीन गृहमन्त्री जनार्दन शर्माले कथित ‘डन’ हरुलाई ठेगान लगाउने बताएपछि आजभोलि अधिकांश ‘डन’ विदेश पलायन भएका छन् ।

मन्त्रीको अभिव्यक्तिपछि नेपाल छोड्नेमा काभ्रेली समूहका ‘डन’ फुर्वा लामा पनि एक हुन् । उनी हाल अस्ट्रेलियाको सिड्नीमा बस्दै आएका छन् । महिना दिनअघि उनी घर आएका बखत झापा गोल्डकपमा अतिथि समेत बनेका थिए । चारआलीस्थित नेपाल आयल निगमको जग्गा काण्डमा समेत मुछिएका उनले सम्पत्ति शुद्धीकरणमा बयानका लागि तीनपटक धाएका थिए ।

दुई वर्षअघि मन्त्री शर्माले ‘गुन्डाहरूलाई तह लगाउँछु’ भनको केही दिनभित्रै कथित ‘डन’ अर्थात गुन्डा नाइके दावा लामा फरार भएका थिए । फुर्वा र दावाको सम्बन्ध एकदमै सुमधुर रहेको प्रहरी स्रोत बताउँछ । त्यतिबेला दावा लामा आप्mना दुई साथी फुर्वा लामा र सञ्जीव तामाङसँग सिङ्गापुरतिर फरार भएका थिए । दावालाई प्रहरीले पक्राउ गरेर छोडिसकेको छ । उनी हाल सिक्किममा क्यासिनो व्यवसायमा छन् ।

नेपालमा रहँदा क्यासिनोमा लगानी, ठेक्का पट्टा, गैरकानुनी क्रियाकलापमा संलग्न हुँदै आएका लामालाई अघिल्ला गृहमन्त्री विमलेन्द्र निधिले कांग्रेसका नेताको दबाबमा संरक्षण गर्दै आएका थिए ।

अस्ट्रेलियामा रहँदा समेत फुर्वाले मिटर ब्याजमा पैसा लगानी गर्ने, क्यासिनो, नाइट क्लबमा लगानी गर्दै आएका छन् । अस्ट्रेलियामा बसेर पनि उनी आफ्नो समूहका सदस्यमार्फत झापामा खुलाइने अधिकांश टेन्डरमा पकड राख्दै आएका छन् ।

अस्ट्रेलियामा हुन लागेको गैरआवसीय नेपाली संघको चुनावमा समेत उनको दबदबा रहेको त्यहाँका नेपालीको भनाइ छ । उनले समर्थन गर्ने उम्मेदवारले मात्र चुनाव जित्ने अस्ट्रेलियामा रहेका नेपालीको अनुमान छ । अस्ट्रेलियामा हुने अधिकांश इभेन्टबाट फुर्वालाई कमिसन छुट्याइने गरेको छ । दिपक मनाङे हुँदै गणेश लामा र पछि दावासँग निकट रहेका फुर्वा प्रहरीको निगरानी भएपछि अस्ट्रेलियामै पलायन भएका हुन् ।

विलासी जीवन बिताउँदै आएका फुर्वालाई प्रहरीले खोजी गरेको भए पनि उनी निर्वाध रुपमा नेपाल–अस्ट्रेलिया–नेपाल गर्दै आएका छन् । छुट्टी मनाउन विदेश गएर मोजमस्ती गर्ने फुर्वाको समूहका साथीहरु पनि विदेशमै छन् । हङकङमा प्रकाश श्रेष्ठ, सिङ्गापुरमा सञ्जीव तामाङ, कोरियामा भक्त लिम्बू, बेलायतमा मधुकर लामा लगायत छन् ।

प्रहरी स्रोतका अनुसार फुर्वाले पूर्वी नेपालमा मात्र झन्डै १५ करोड रुपैयाँ मिटर ब्याजमा रकम लगानी गरेका छन् । उनले प्रायःजसो लगानी व्यापारीलाई गरेका छन् । सौखिन डनको परिचय बनाएका फुर्वाको खुवाइ, बसाई र पहिरनसमेत अत्यन्त महँगो रहने गरेको प्रहरीको भनाइ छ ।