पाँचथर । प्रविधिको विकाससँगै पूर्वी पहाडी जिल्लाका बासिन्दाले नौलो प्रविधिको प्रयोग गर्न पाएका छन् । मोबाइलमा रिचार्ज गरेर आफन्तसँग कुरा गरिरहेका उनीहरुले अहिले फेरि रिचार्ज गरेरै घरमा बिजुली बत्ती बाल्न थालेका छन् ।

जिल्लाको मिक्लाजुङ गाँउपालि–२ को सप्तमी बजार र आसपास गाँउका उपभोक्ताको घरमा मिटर बक्समा एउटा डिजिटल कार्ड राखिएको छ । यही कार्ड लिएर वितरण गर्ने कार्यालयमा गएर कति युनिट विद्युत प्रयोग गर्ने हो उपभोक्तले अग्रिम पैसा तिर्छन् । स्थानिय उपभोक्ता यसलाई ‘रिचार्ज’ भन्छन् ।

पैसा तिरेपछि घरमा बत्ती बल्न थाल्छ । पैसा सकिएपछि घरमा विजुली आउन छाड्छ । तर, पैसा सकिन लाग्दा रातो इन्डिकेटर बलेर संकेत गरेपछि कार्ड लिएर उपभोक्ता वितरण कार्यालयमा गएर पैसा तिर्छन् । कार्ड मिटरबक्समा ल्याएर जोडेपछि पुनः बिजुली बल्न थाल्छ । यहाँका ११० घरधुरीका उपभोक्ताले यसरी बत्ती बाल्दै आएका छन् ।

‘जसरी रिर्चाज सकेपछि फोनमा बोल्न मिल्दैन, त्यसरी नै यहाँ पनि पैसा सकिएपछि बत्ती बल्न छाड्छ’, वार्ड अध्यक्ष सन्तोष शेर्माले भने । चिया उद्योग तथा अन्य व्यवसाय सञ्चालनमा पनि यसरी नै विद्युत उपभोग हुने गरेको छ । घरमा आवश्यकताअनुसार अग्रीम भुक्तानी गर्ने गरिएको छ ।

पैसा सकिन लाग्दा पुनः सुचारु गर्न पाईने, नसकिएमा अर्को महिना पनि बाल्न पाईने स्थानिय उपभोक्ता बताउँछन् । प्रतियुनिट सात रुपौयाको दरले महसुल बुझाउनुपर्ने हुन्छ । गत मंसिरबाट यसरी बिजुली बाल्न थालिएको हो ।

अर्को महत्वपूर्ण पक्ष यहाँ हावाबाट बिजुली उत्पादन गरिएको छ । हावा र सोलार प्रणाली जडान गरी उत्पादन गरिएको बिजुलीबाट स्थानीयहरु लाभान्वित भएका छन् । हावाबाट बिजुली उत्पादन गरिएको यो नौलो अभ्यास हो । डाँडामा हावाबाट विद्युत् उत्पादन गर्ने मेसिन राखिएको छ । यहाँ बेजोडसँग हावा चल्ने गर्छ । यहाँ हावाबाट तीन बर्ष लगाएर यो आयोजना पुरा गरिएको वार्ड अध्यक्ष शेर्मा बताउँछन् । चार करोड ९४ लाख रुपैयाँ लागतमा यहाँबाट विद्युत् उत्पादन गरिएको शेर्माले बताए ।

सप्तमी सौर्य– वायु मिनिग्रिड परियोजना मार्फत ७० किलोवाट विद्युत् उत्पादन भएको छ । यो मध्ये २० किलोवाट बिजुली हावाबाट र ५० किलोवाट बिजुली सौर्य उर्जाको माध्यमबाट उतपदन हुने अध्यक्ष शेर्पाले जानकारी दिए । डाँडामा राखिएको वायु र सोलार प्रविधि यहाँ आउनेका लागि पनि रोचक विषय बनेको छ । एडिबिको सहयोगमा बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले यो परियोजना बनाएको हो ।

१० प्रतिशत स्थानीय उपभोक्ताको लागतमा गाउँपालिकाले सहयोग गरेको छ । उपभोक्ता र गाउँपालिकाले ४५ लाख रुपैँया रकम जुटाएका थिए । २४ घण्टा बिजुली आउने भएकाले सहज भएको स्थानीय उपभोक्ताले बताए ।

यही बिजुलीमार्फत घरेलु उद्योगको विकास भएको वार्ड अध्यक्ष शेर्मा बताउँछन् । १ सय रुपैँयादेखि माथि रकम तिरेर बिजुली उपभोग गर्न पाईने बताइएको छ । सुरुमा रिचार्ज गरेर बिजुली बाल्ने कुराले अलमल भए पनि अहिले सहज भएको स्थानीय उपभोक्ता दिपककुमार खडकाले बताए ।

‘हावाबाट बिजुली बल्छ भन्ने सुन्दा हामीलाई पनि पत्यार लागेको थिएन । तर, हामीलाई विश्वास दिलाउँदै सफल भयो’, उनले भने, ‘बिजुली गाउँमै उत्पादन भए पनि सुविधा त हुने नै भयो ।’ हावा र सोलारको माध्यमबाट उत्पादन भएको बिजुली व्याट्रीमा जम्मा गराएर वितरण गरिएको छ ।