एजेन्सी । साविकको विजेता वायर्न म्युनिखले जर्मन बुन्डेस लिगा फुटबलमा पहिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा शाल्केलाई ३-० गोल अन्तरले पराजित गर्दै वायर्नले पहिलो जित निकालेको हो । फरवार्ड रोवर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा साविकको विजेता बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा पहिलो जित निकालेको हो ।

पहिलो खेलमा हर्था बर्लिनसँग २-२ गोलको बराबरी खेलेको बायर्नले घरेलु टोली साल्केमाथि ३-० को सहज जित निकालेको हो । बायर्नको सहज जितमा निकै उच्च फर्ममा रहेका लेवान्डोस्कीले ह्याट्रिक पुरा गरे । उनले अघिल्लो खेलमा पनि दुई गोल गरेका थिए ।

खेलको २०औं मिनेटमा लेवान्डोस्कीको पेनाल्टी गोलबाट बायर्न खेलमा अघि बढेको थियो । जोनजोइ केन्नीले किङ्सले कोमानलाई पेनाल्टी बक्समा लर्डापछि प्राप्त पेनाल्टीमा लेवान्डोस्की चुकेनन् ।

पहिलो हाफमा १-० को अग्रता लिएको बायर्नले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । ५०औं मिनेटमा लेवान्डोस्कीले करिव २५ यार्डमा प्राप्त फ्रिकिकमा उत्कृष्ट गोल गर्दै बायर्नलाई २-० ले अघि बढाए । ७५औं मिनेटमा किङ्सले कोमानको पासमा लेवान्डोस्कीले ह्याट्रिक पुरा गर्दै बायर्नलाई ३-० को सहज जित दिलाए ।

साल्केविरुद्धको खेलमा यसै सिजन बायर्नमा अनुबन्ध भएका फिलेपे कौटिन्हो र इभान पेरिसिसले बुन्डेस लिगामा ‘डेब्यु’ गरे । उनीहरु ५७औं मिनेटमा मैदानमा प्रवेश गरेका थिए । जितसँगै बायर्नले दुई खेलबाट ४ अंक जोडेको छ । पराजित साल्के १ अंक जोडेर १२औं स्थानमा छ ।