एजेन्सी । किर्गिस्तानमा जारी नादेझ्दा कप अन्तर्गत मंगलबार समूह चरणको अन्तिम खेल हुँदैछन् । आज हुने पहिलो खेलमा नेपाल र ताजिकिस्तान भिड्नेछन् । खेल मध्यान्ह ११:४५ बजे सुरु हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा किर्गिस्तानमाथि ८-२ को फराकिलो जित दर्ता गरेको नेपाल दोस्रो खेलमा उज्बेकिस्तानसँग २-० ले पराजित भएको थियो । नेपालले अब अन्तिम खेलमा ताजिकिस्तानलाई पराजित गरे फाइनलमा स्थान पक्का गर्नेछ । यता ताजिकिस्तानले पनि जित दर्ता गरे फाइनल पुग्नेछ । ताजिकिस्तानले पहिलो खेलमा उज्बेकिस्तानसँग १२-० को फराकिलो हार बेहोरेपनि दोस्रो खेलमा किर्गिस्तानमाथि २-१ को जित दर्ता गरेको थियो ।

नेपालले आजको खेलमा केहि खेलाडी परिवर्तन गर्नेछ । नियमित कप्तान निरु थापा सोमबारको खेलमा घाइते भएपछि १४ औं मिनेटमा नै बाहिरिएकी थिइन् । उनलाई आज प्रशिक्षक हरि खड्काले विश्राम दिन सक्छन् । यसैगरी पछिल्ला खेलमा बेन्चमा नै सिमित रहेका गोलरक्षक अन्जना रानामगर, डिफेन्डर कविता धिमाल, फरवार्ड रेखा पौडेल लगायतले मौका पाउन सक्छन् । मिडफिल्डर इन्दिरा राई, अनिता केसी र विमला चौधरीले पहिलो रोजाईमा खेल्ने सम्भावना रहेको छ ।

दिनको दोस्रो खेलमा शीर्षस्थानमा रहेको उज्बेकिस्तानले किर्गिस्तानको सामना गर्नेछ । फाइनल पुगिसकेको उज्बेकिस्तान लगातार तेस्रो जितसँगै शत प्रतिशत नतिजा हासिल गर्न चाहन्छ । किर्गिस्तान भने फाइनल पुग्ने सम्भावना सकिएको अवस्थामा प्रतियोगितामा सुखद अन्त्य गर्न चाहन्छ । प्रतियोगिताको फाइनल र तेस्रो स्थानको खेल बिहीबार हुने तालिका रहेको छ ।