अर्जुनधारा । धाइजन चारआली भेट्रान फुटबल प्रतियोगिताको सातौँ संस्करण कात्तिक ६ गतेदेखि हुने भएको छ । आयोजक धाइजन चारआली फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा आठ वटा टिम सहभागी हुने जनाएको छ ।

मेचीनगर नगरपालिकाको १२ र १३ नम्बरमा २०६९ सालमा स्थापित क्लबले बर्सेनि भेट्रान फुटबल प्रतियोगिता गर्दै आएको छ । कात्तिक ६ गतेदेखि ९ गतेसम्म हुने प्रतियोगितामा आयोजकसँगै काँकरभिट्टा भेट्रान एफसी, बिर्तामोड, कनकाई, दमक लखनपुर, भद्रपुर र विराटनगरको सिएमजी स्वास्थ्य क्लबले प्रतिस्पर्धा गर्ने आयोजक क्लबका अध्यक्ष आशिष वनले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको विजेताले नगद ६१ हजार र उपविजेताले ४१ हजार नगदसँगै ट्रफी पाउनेछ ।

क्लबका सचिव धनबहादुर तामाङले प्रतियोगिता सम्पन्न गर्नका लागि ८ लाख ३७ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए । प्रतियोगिता सम्पन्न गर्नका लागि प्रायोजकसँग छलफल भइरहेको बताइए पनि सहयोगसम्बन्धी निश्चित भइनसकेको उनले बताए ।

नव कालिका खेल मैदानमा हुने प्रतियोगिताको पहिलो दिन चार खेल, दोस्रो दिन दुई खेल र ९ गते फाइनल खेल रहने आयोजकले जनाएको छ । जसमा ३८ वर्ष पूरा गरेका तीन जना र बाँकी ८ जना खेलाडी ४० वर्ष पूरा भएका खेलाडी हुनुपर्ने आयोजकल मापदण्ड बनाएको अध्यक्ष वनले बताए ।

यसैबीच, अष्ट्रेलियामा रहेका चारआलीका खेलप्रेमी अनिल सिवाकोटी, युएईमा रहेका भीम कार्की र क्यानाडामा रहेका श्याम कार्की डाँफे क्लबमार्फत सहयोगमा जुटेको जानकारी दिँदै अध्यक्ष वनले धन्यवाद दिएका छन् । भेट्रान फुटबल प्रतियोगिता निरन्तर आयोजना गर्ने क्लब आफूहरुको मात्र भएको अध्यक्ष वनले दाबी गरेका छन् ।

प्रतियोगिता आयोजना गर्नुका साथै क्लबले एकाडेमी स्थापना गर्ने सोँच बनाएको छ । अहिले पनि नियमित ३० जना १६ वर्षमुनिका खेलाडीलाई क्लबले प्रशिक्षण दिइरहेको छ । पूर्व खेलाडी पुर्ण सुब्बा, दिपक लामा र सन्तोष बस्नेतले खेलाडीलाई प्रशिक्षण दिइरहेका छन् । क्लबमा करिब ७० जना जुनियर खेलाडीले नाम दर्ता गराएका छन् ।

आयोजकले पूर्व राष्ट्रिय खेलाडीलाई सम्मान गर्ने कार्यक्रमलाई पनि यसवर्ष निरन्तरता दिएको छ । यसवर्ष भेट्रान खेलाडी लक्ष्मीप्रसाद लिम्बू (लोचन)लाई नगद पुरस्कारले सम्मान गर्न लागेको छ । उनलाई नगद २ लाख रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । गतवर्ष पूर्ण लिम्बूलाई एक थान मोटरसाइकल प्रदान गरिएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले प्राविधिक सहयोगसँगै खेल सामग्री प्रदान गर्ने बताए । उनले खेलाडीलाई सम्मान गर्ने कार्य उदाहरणी रहेको भन्दै क्लबले नाफामुलकभन्दा पनि लगानीमुलकरुपमा एकाडेमीको स्थापना गरेको बताए । खेलाडी उत्पादन गर्ने लक्ष्य क्लबको सवल पक्ष रहेको उनको भनाइ थियो ।