नेपालगञ्ज । बाँकेमा प्लाज्मा थेरापी विधिबाट उपचार गराइरहेका एक जना कोरोना भाइरस संक्रमित ५९ वर्षीय पुरुषको मृत्यु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा २१ पुरैनीका उनको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा शनिबार राति ११ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
भदौ २० गते उपचारका लागि अस्पतालमा भर्ना भएका उनलाई भोलिपल्ट कोरोना पुष्टि भएको थियो ।
प्लाज्मा थेरापीबाट उपचार गराइए पनि स्वास्थ्यमा थप समस्या देखिएपछि उनको भेन्टिलेटरको सहायताबाट थप उपचार थालिएको थियो । मृतकको फोक्सोमा समस्या देखिएको अस्पतालले जनाएको छ ।
हालसम्म बाँकेमा कोरोना संक्रमित १० जनाको मृत्यु भइसकेको छ ।