फिक्कल । दुवै मिर्गौलामा समस्या भएर उपचारका लागि आर्थिक अभावले छटपटाइरहेकी सूर्योदय नगरपालिका–१० की सात बर्षीया अन्जली तामाङका लागि आर्थिक सहयोग जुट्न थालेको छ ।
दैनिक ज्यालादारी गरेर परिवार पालिरहेका बाबु टिकारामलाई छोरीको उपचारमा समस्या भएपछि आर्थिक सहयोग मागेका थिए । विगत ६ बर्षदेखि प्यारालाइसिसले थलिएकी श्रीमती र तीन सन्तानका बाबु टिकारामलाई डाक्टरले एक बर्षअघि नै अञ्जलीको मिर्गौलाले काम नदिएको बताएपनि उनले उपचार गर्न सकेका थिएनन् ।
सूर्योदय नगरपालिकाका स्थानीय युवा समाजसेवी तथा हाल चौधरी ग्रुप काठमाडौमा कार्यरत कुनाल राईको अगुवाइमा अन्जलीको उपचारका लागि आर्थिक सहयोग संकलन सुरु भएको हो । सुरुमा आफ्नै नजिकका साथीभाइ र आफू कार्यरत संस्था चौधरी ग्रुपमा सहयोग रकम संकलन अभियान चलाएका राईले ६३ हजार रुपैंयाँ बढी संकलन गरिसकेका छन् भने अन्य मनकारी ब्यक्तिहरुले रकम जम्मा गरिरहेका छन् ।
‘सुनौलो भविष्य बोकेकी एउटी चेलीलाई बचाउनु हामी सबैको दायित्व हो, सकेको सहयोग गरौं र अन्जलीलाई चाँडै स्वस्थ्य बनाऔं भन्ने अभिलाषाले नै हामी जुटेका हौं,’ राईले भने,‘विश्वभर छरिएका नेपालीहरुलाई आर्थिक सहयोग गरिदिनुहुन हाम्रो अनुरोध ।’
अन्जलीको यतिबेला खुट्टादेखि टाउकोसम्म पुरै सुनिएको छ । बिर्ता सिटी अस्पताल झापाले रेफर गरेपछि विराट नर्सिङ होम अस्पताल विराटनगरमा उनको उपचार भइरहेको छ । शरीरमा तागत शुन्यप्राय छ । करफोक माध्यमिक विद्यालयमा कक्षा २ मा पढ्ने अञ्जली एक बर्षदेखि स्कुल जान सकेकी छैनन् ।
भत्किसकेको झुप्रोमा ओत लागिरहेका टिकारामको जग्गाजमिन पनि छैन । त्यसैले उनलाई यतिबेला छोरी कसरी बचाउने भन्ने चिन्ता छ । तामाङ परिवारले छोरीको ज्यान बचाउन सहयोग संकलनका लागि इलामको फिक्कल स्थित कृषि विकास बैंकमा खाता समेत खोलेका छन् ।
तामाङले कृषि विकास बैकको खाता नम्बर ०६०१००१६२९६४६०११ अर्थात कुनाल राई, नविल बैंक, पुल्चोक (ललितपुर) को खाता नम्बर १९१००१७५११३९५मा चन्दा जम्मा गरेर छोरीको ज्यान बचाइदिन आव्हान समेत गरेका छन् र आवश्यक परे ९८४१९८९६१६ मा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।