झापा । झापामा पहिलोपटक जनप्रतिनिधिलाई कोरोना संक्रमण देखिएको छ । कनकाई नगरपालिकाका जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा कनकाई नगरपालिका वडा नं २ का वडा सदस्य ४८ वर्षिय घनश्याम मैनाली रहेका छन् । उनलाई आज संक्रमण पुष्टि भएको नगरपालिकाका सूचना अधिकारी लक्ष्मी अधिकारीले बताए । त्यस्तै कृषि ज्ञान केन्द्र झापाका एक कर्मचारीलाई पनि संक्रमण देखिएको छ ।
बिर्तामोड नगरपालिका वडा नं ५ ठेगाना भएका ३० वर्षिय ती कर्मचारीले कनकाई नगरपालिकामा गएर स्वाब संकलन गर्न लगाएका थिए । आज झापामा चार जना व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको रिपोर्ट आएको थियो ।
जसमा भद्रपुर नगरपालिका ९ का एक व्यापारीलाई पनि संक्रमण देखिएको छ । वडा न ९ ठेगाना भई वडा नं १० मा बस्दै आएका ५० वर्षिय सुनचाँदी व्यवसायीलाई संक्रमण पुष्टि भएको भद्रपुर नगरपालिकाका क्वारेन्टाइन प्रमुख मनोज भट्टराईले बताए ।
झापामा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । झापा गाउँपालिकामा कोरोना संक्रमणको कारण एक वृद्धको मृत्यु भएको हो । झापा –६ का ७८ बर्षिय वृद्धको कोरोना संक्रमणको कारण बुधबार बेलुका मृत्यु भएको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए ।
वृद्धको आफ्नै घरमा मृत्यु भएको हो । उनी दमका रोगी रहेको जनाइएको छ । वृद्धका छोरोलाई केही दिनअघि कोरोना पुष्टि भएको थियो । उनी भद्रपुरस्थित आइसोलेसनमा छन् ।