झापा । झापाको अर्जुनधारा नगरपालिकाका तीन शाखाको काम कारबाही आजदेखि बन्द गरिएको छ । संक्रमित व्यक्ति नगरपालिकाको विभिन्न शाखामा प्रवेश गरेका थिए ।
बिहीबार बिर्तामोडबाट अर्जुनधारा नगरपालिकाको कार्यालयमा प्रवेश गरेका एक जनामा व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाको कृषि, प्रशासन र प्राविधिक शाखाको कामकारबाही बन्द गरिएको हो ।
हाल उक्त शाखाहरुलाई निःसंक्रमण गरेर बन्द गरिएको नगरप्रमुख हरिकुमार रानाले बताउनुभयो । ‘संक्रमण फैलिन नदिन आवश्यक काम गरिएको छ’, उहाँले भन्नुभयो, ‘संक्रमित व्यक्ति कहाँ–कहाँ प्रवेश गरेका थिए, सोको यकिन गरेर निःसंक्रमण गरेका छौँ ।’
ती व्यक्तिका सम्पर्कमा आएका सबै कर्मचारीलाई हाल आइसोलेसनमा राखिएको छ । पाँच दिनपछि उनीहरुको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिनुभयो ।
नगरपालिकाबाट प्रवाह गरिने अन्य सेवाहरु भने सुचारु रहने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले बताउनुभयो । ‘नगरबासीले तीन शाखाबाहेक अन्य सेवा पाउने छन्, स्वास्थ्य मापदण्ड पूरा गरेर नगरपालिकाको काम सुचारु रहनेछ’, उहाँले भन्नुभयो, ‘सबै वडा कार्यालयहरुको काम पनि जारी रहने छ ।’
संक्रमित भएका व्यक्ति कृषि ज्ञान केन्द्रका कर्मचारी हुन् । उनमा हिजो संक्रमण पुष्टि भएको थियो । यसअघि उनले कनकाई नगरपालिकामा स्वाब संकलन राएका थिए । त्यसको रिपोर्ट पोजेटिभ आएको हो ।
उनले अर्जुनधारा नगरपालिकाले आह्वान गरेको अन्तरवार्तामा सहभागिता जनाएका थिए । उनी बिर्तामोड ५ निवासी भएको बताइएको छ ।