झापा । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ३ का एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वडा कार्यालय नजिकैका एक व्यक्तिमा पुष्टि भएपछि खुदुनाबारी बजार क्षेत्र अघोषितरुपमा लकडाउन गरिएको छ ।
वडा नम्बर २ र ३ बाट प्रवाह गरिदैं आएको सम्पूर्ण सेवा बन्द गरिएको वडा कार्यालयले एक सूचना जारी गर्दै जनाएको छ । दुवै वडा कार्यालय नजिकै रहेका छन् । वडा ३ का एक स्थानीयमा कोरोना पोजेटिभ देखिए संगै वडाले संक्रमित ब्यक्तिको कन्ट्याक्टमा आएकाहरुको रिपाेर्ट नआउन्जेलसम्मको लागि वडाको सम्पूर्ण काम कारवाही बन्द गरेको वडाध्यक्ष जीवनकुमार भण्डारीले जानकारी दिए ।
साथै वडा कार्यालयले टाङटिङ खोलादेखि सुखानी खोलासम्म आसपासमा रहेका होटल, संघसंस्था, व्यापार व्यवसाय लगायत पनि बन्द गरिएको वडाध्यक्ष भण्डारीले बताएका छन् ।
संक्रमित ब्यक्तिको सम्पर्कमा आएका ९ जनाको पीसीआर रिपोट आउन बांकी रहेको पनि वडा कार्यालयले जनाएको छ । संक्रमित ब्यक्तिको घर नजिकै वडा कार्यालय रहेको छ ।
स्रोतका अनुसार स्थानीय व्यक्ति उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गएका थिए । उनको स्वाब थ्रोट परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।