बिर्तामोड । झापामा ९० वर्षीय बृद्धासहित थप तीन जना स्थानीयलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा एक जना महिला र दुई जना पुरुष रहेका छन् ।
आज थपिएका संक्रमितहरु बिर्तामोड नगरपालिका वडा नं १ की ९० वर्षीय एक महिला रहेकी छन् । उनी स्थानीय हुन् । त्यस्तै, अर्जुनधारा नगरपालिका वडा नं. ३ का ५१ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको छ ।
उपचारका लागि धरान गएका उनको उतै स्वाब संकलन गरिएको थियो । छातीसम्बन्धी रोगबाट ग्रसित उनको उपचारका लागि झापाका विभिन्न अस्पतालमा लगिएको बताइएको छ । पछिल्लोपटक मेची अस्पताल भद्रपुरमा लगेपछि थप उपचारका लागि धरान रेफर गरिएको हो ।
यस्तै, दमक नगरपालिका वडा नं. ५ का ४२ वर्षीय एक पुरुषमा भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए । अर्जुनधारा र दमकका व्यक्तिको धरानबाट स्वाब संकलन गरिएको र दमकका व्यक्ति भेन चालक रहेको चम्लागाईले जानकारी दिए ।
आजसम्म झापामा कुल संक्रमितको संख्या ८४७ पुगेको छ भने भने डिचार्ज हुनेको संख्या ७७४ पुगेको छ । हाल झापामा सक्रिय संक्रमितको संख्या ६६ छ भने कोरोनाबाट हाल सम्म झापामा ७ जनाको मृत्यु भइसकेको छ ।