धरान । धरानमा एक जना पत्रकारलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । पत्रकारसँगै उपमहानगरका अधिकृत, इन्जिनियर, स्वास्थ्यकर्मी र प्रधानाध्यापकलाई पनि संक्रमण पुष्टि भएको हो ।

धरानका ३८ बर्षीय एक पुरुष पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको हो । धरानमा पत्रकारलाई कोरोना संक्रमण देखिएको यो पहिलो हो ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार वडा नं १६ का एक इन्जिनियरलाई पनि संक्रमण पुष्टि भएको छ भने उपमहानगरपालिकाका एक अधिकृतलाई पनि संक्रमण देखिएको छ ।

यस्तै, धरान १५ स्थित एक सामुदायिक विद्यालयका प्रध्यानाध्यापकलाई पनि संक्रमण पुष्टि भएको मेहताले जानकारी दिए । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पिसिआर परिक्षणको १८ जनाको रिपोर्ट पोजेटिभ आएको र अन्यको बारेमा आवश्यक जानकारी संकलन गरिरहेको मेहताले बताए । रिपोर्ट पोजेटिभ आएका १८ जनामा वीपी प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीहरु पनि छन् ।